काठमाडों । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी गरिएको ‘७ प्रतिशतको नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ मा अत्यधिक लगानीकर्ताको आकर्षण देखिएको छ। बैंकले जारी गरेको ३० लाख इकाई बराबरको रु। ३ अर्बको ऋणपत्र चार गुणा बढी ओभरसब्सक्राइब भएको हो।
प्रत्येक इकाई १,००० रुपैयाँ अंकित मूल्यमा रहेको यो ऋणपत्र निष्काशनमा १ करोड २० लाखभन्दा बढी इकाईका लागि आवेदन परेको छ। असार ३० गतेदेखि श्रावण १ गतेसम्म खुला रहेको यस निष्काशनमा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ, जसले बैंकको वित्तीय स्थिरता तथा प्रगतिप्रतिको विश्वासलाई झल्काउँछ।
उक्त ऋणपत्रमध्ये १८ लाख इकाई निजी प्लेसमेन्टमार्फत र १२ लाख इकाई सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो। सर्वसाधारणका लागि छुट्याइएको इकाईमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाई म्युचुअल फण्डका लागि सुरक्षित राखिएको थियो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८२ जेठ ७ गते स्वीकृति प्राप्त गरेको यो ऋणपत्र १० वर्षे अवधिको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड यस निष्काशनमा बिक्री प्रबन्धकको भूमिकामा रहेको थियो।