काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या हालसम्मकै उच्च देखिएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल आठ लाख ३९ हजार २६६ जना नेपाली श्रम स्वीकृति लिएर विदेशिएका छन्। तीमध्ये सात लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्। वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिनु अनिवार्य हुन्छ।
गत वर्ष पुनः श्रम स्वीकृति लिएर गएका कामदारको संख्या तीन लाख ३३ हजार ३०९ रहेको छ भने नयाँ श्रम स्वीकृति लिई विदेश जानेको संख्या पाँच लाख पाँच हजार ५७ जना पुगेको छ। नेपालमा रोजगारीको अवसर सीमित हुनु, उपलब्ध रोजगारीमा पारिश्रमिक न्यून हुनु, महँगी बढ्नु, राजनीतिक अन्योलजस्ता कारणले विदेशिनेको संख्या बढ्दो क्रममा छ। यही प्रवृत्तिको निरन्तरतासँगै गएको वर्ष वैदेशिक रोजगारका लागि गएका नेपालीको संख्या हालसम्मकै उच्च बनेको हो।
उल्लेखनीय छ, शैक्षिक, आवासीय वा भ्रमण भिसामा विदेश गएकाहरूको संख्या यसमा समावेश गरिएको छैन। विभागको तथ्यांक अनुसार केवल श्रम स्वीकृति लिएर गएका कामदारहरू मात्र समेटिएका हुन्। यसअघि आर्थिक वर्ष २०७९–८० मा सात लाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारमा गएका थिए, जुन त्यसबेलासम्मकै उच्च थियो। अघिल्लो वर्ष २०८०–८१ मा सात लाख ४१ हजार २९७ जना विदेश गएका थिए। त्यसको तुलनामा गत वर्ष वैदेशिक रोजगारमा गएकाहरूको संख्या १३।२१ प्रतिशतले बढेको हो। थप रूपमा, इजरायलमा पनि ६२५ जना नेपाली कामदार गएका छन्।
महिना अनुसार विवरण हेर्ने हो भने साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३, बैशाखमा ७८ हजार ५०, जेठमा ७४ हजार ४६७ र असारमा ७८ हजार ८८० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।