Logo

२ बर्षभित्र माईक्रो फाइनान्सको संख्या २५ मा झारिने, चुक्ता पूँजी ५ गुणासम्म वृद्धि

२ बर्षभित्र माईक्रो फाइनान्सको संख्या २५ मा झारिने, चुक्ता पूँजी ५ गुणासम्म वृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रो फाइनान्सको संख्यामा व्यापक कटौती गर्ने भएको छ । हाल ८९ ओटा रहेको माइक्रो फाइनान्सलाई २ बर्ष भित्र २५ ओटामा झार्न लागिएको हो ।

माइक्रो फाइनान्सको संख्या घटाउने सम्बन्धमा राष्ट्र बैंक व्यवस्थापनले बोर्ड समक्ष सिफारिस गरेको हो । हाल माइक्रो फाइनान्सहरु मर्जर प्रक्रियामा रहेकाले मर्जर सकिए पश्चात उक्त संख्या घटेर ७१ ओटामा झर्ने छ ।

तर, ७१ ओटामा आएपनि माइक्रो फाइनान्सको संख्या बढी भएको भन्दै बुधबार बसेको राष्ट्र बैंक व्यवस्थापन बैंठकले दुई बर्ष भित्र २५ ओटामा झार्ने भन्दै बोर्ड समक्ष सिफारिस गरेको हो । ‘यस पटकको मौद्रिक नीतिमा माईक्रो फाइनान्सको संख्या तोकिएर नआएपनि दुई बर्ष भित्र २५ ओटामा झार्ने निर्णय गरेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसका लागि जुनसुकै उपाय अपनाएर भएपनि कार्यान्वयनमा ल्याउने छौं ।’

यसैगरी मौद्रिक नीतिले माइक्रो फाइनान्सको चुक्ता पूँजीमा पनि व्यापाक वृद्धि गर्ने भएको छ । माईक्रो फाइनान्सको हालको चुक्ता पूँजीलाई मौद्रिक नीतिले ५ गुणासम्म वृद्धि गर्ने भएको छ ।

हाल क्षेत्रिय स्तरको माइक्रो फाइनान्सको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । त्यसलाई मौद्रिक नीतिले बढाएर ५० करोड पुर्याउने निर्णय गरेको छ । यसगरी राष्ट्रियस्तरको माईक्रो फाइनान्सको चुक्ता पुँजी दोब्बरले वृद्धि गरेर १ अर्ब पुर्याइएको समेत उक्त स्रोतले जानकारी दिएको छ । हाल राष्ट्रियस्तरका माईक्रो फाइनान्सको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । यसैगरी होलसेल गर्ने माईक्रो फाइनान्सको चुक्ता पूँजी भने २ अर्ब रुपैयाँ पुर्याइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL