Logo

सरकार र व्यवसायीबीच सहमति, कामदारसँग १० हजारमात्र लिन पाइने

सरकार र व्यवसायीबीच सहमति, कामदारसँग १० हजारमात्र लिन पाइने


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

१० साउन , काठमाडौं । १९ दिनदेखि आन्दोलनरत म्यानपावर व्यवसायी सहमतिमा पुगेका छन् । म्यानपावर व्यवसायीहरु फ्रि भिसा र फ्रि टिकट, बायोमेट्रिक प्रणाली र भिएलएनको विरुद्धमा आन्दोलनमा उत्रिएका थिए । सो विषयलाई कार्यान्वयनमा ल्याउनका लागि छुट्टै कार्यदल बनाउने निर्णय गर्दै व्यवसायीहरुले आन्दोलन रोकेका हुन् । लामो समयको बहसपछि सो विषयमा शनिबार रातीमात्र सहमति भएको हो ।

सरकार र व्यवसायीबीच शनिबार ३१ बुँदे सहमति गरेर आन्दोलन स्थगित गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव राजेन्द्र भण्डारीले जानकारी दिए । जसअनुसार व्यवसायीले परीक्षणका रुपमा रुपमा ३ महिनाका लागि फ्रि भिसा र फ्रि टिकट लागू गर्ने सहमती भएको हो ।

आगामी दिनमा फ्रि भिसा र फ्रि टिकटको सम्बन्धमा अध्ययन गर्नका लागि छुट्टै कार्यदल बनाइने भएको छ । ३ महिना भित्र कार्यदल बनाई मलेसिया र खाडीका ६ वटा मुलुकको अध्ययन भ्रमण गर्ने भएको छ । सोही आधारमा प्रतिवेदन तयार पारेर कार्यान्वयनमा लगिने समेत मन्त्रालयले जानकारी दिएको छ । उक्त कार्यदलमा व्यवसायीको तर्फबाट ५ र मन्त्रालयको तर्फबाट ५ जना रहने छन् ।

सहमति अनुसार हाललाई व्यवसायीले सेवा शुल्कवापत १० हजार रुपैयाँ मात्र उठाउन पाउने भएका छन् । यस अघि म्यानपावर व्यवसायीले मलेशिया तथा खाडी मुलुकमा कामदार पठाउँदा प्रतिकामदार ५ लाख रुपैयाँसम्म लिँदै आएका थिए ।

सरकारले गत असार २१ गतेदेखि मलेसियालगायत खाडीका ६ मुलुक साउदी अरब, कतार, बहराईन, संयुक्त अरब इमिरेट्स, ओमान र कुवेतमा निःशुल्क भिषा र टिकटमा मात्र कामदार पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL