Logo

पर्यटक आगमनमा कमी आउँदा ठमेल सुनसान, होटल अकुपेन्सीमा तीव्र गिरावट

पर्यटक आगमनमा कमी आउँदा ठमेल सुनसान, होटल अकुपेन्सीमा तीव्र गिरावट



काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा कोरोना भाईरसको गम्भीर प्रभाव देखिन शुरु भएको छ । कोरोनाको असरका कारण पर्यटन आगमन घट्दै जाँदा अहिले नेपालकै मुख्य पर्यटकीय क्षेत्र ठमेल सुनसान भएको छ । पर्यटकको सधैं चहलपहल हुने ठमेलामा केही दिनयता भने पर्यटक कमैमात्र देखिन थालेका छन् । जसका कारण ठमेलमा रहेका हजारौं पर्यटन व्यवसायमा असर परेको छ ।

सरकारले ‘नेपाल भ्रमण बर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेपनि कोरोना भाईरसको कारण पर्यटन क्षेत्रमा नराम्रो धक्का पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन । ‘अहिले पर्यटकको केन्द्र मानिने ठमेल सुनसान छ’, पर्यटन ब्यवसायी कर्ण लामाले भने, ‘सरकारले चीन र भारत केन्द्रित भएर प्रचारप्रसार गरेपनि चीनबाट शुरु भएको भाईरसका कारण अन्य क्षेत्रबाट आउने पर्यटकसमेत आईरहेका छैनन् ।’

पछिल्लो जनवरीमा जम्मा ७९ हजार ६ सय ८६ जना मात्रै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सोही अवधिमा गत बर्ष ८१ हजार २ सय ७३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । फेब्रुअरीमा पर्यटक आगमनमा थप कमी आएको अनुमान गरिएपनि पूरा तथ्यांक भने केही दिनमा मात्र आउनेछ ।

भाईरसकै कारणले पछिल्लो समय धेरै होटलहरु खाली भईरहेको होटल एशोसिएशन अफ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत टेक महतले जानकारी दिए । होटल व्यवसायीका अनुसार कोरोना भाइरसको प्रभावका कारण होटलहरुको अकुपेन्सीमा तीव्र गिरावट आएको छ । धेरै देशबाट पर्यटक तथा स्थानीय एजेन्टहरुले धमाधम बुकिङ रद्ध गरिहरहेका छन् । ‘यस्तो अवस्था लामो समयसम्म चलिरह्यो भने नेपालका स्टार होटलदेखि सबै होटललाई सञ्चालन गर्न सकस पर्ने अवस्था आउन सक्छ’, एक व्यवसायीले भने ।

यस्तै सरकारले नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा समेत कोरोना भाईरस संक्रमित ब्यक्तिलाई पहिचान गर्न उपयुक्त हेल्थ डेक्सको ब्यवस्था नगरेकोसमेत पर्यटन ब्यवसायीहरुले आरोप लगाउँदै आएका छन । सरकारले विमानस्थलमा ज्वरो नाप्ने यन्त्रमात्रै राखेर जनतामा भ्रम फैलाईरहेको र भोलिको दिनमा नेपालमा उक्त भाईरस फैलिए भगवान भरोसा मात्रै भन्न सकिने व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन ।

तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले भने आफुलाई सो विषयमा जानकारी नभएको बताए । उनले ती कामहरु स्वास्थ्य मन्त्रालयले गर्ने भएकाले आफुलाई कुनै जानकारी नभएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रसासक तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने नेपालमा ज्वरो नाप्ने यन्त्रबाहेक अरु कुनै सामग्री नभएकाले ज्वरो नाप्ने र सामान्य सोधपुछ गरेर छाड्ने गरेको बताए । तर उनीहरुमा ज्वरो आएमा तथा सोधपुछको क्रममा अन्य लक्षणदेखा परेमा क्वारेन्टाईनमा लगेर राख्ने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL