Logo

लगानीकोषले सहायक कम्पनी खोल्ने, दोस्रो बजारमा ठूलो मात्रामा लगानी गरिने

लगानीकोषले सहायक कम्पनी खोल्ने, दोस्रो बजारमा ठूलो मात्रामा लगानी गरिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

२८ जेठ, काठमाडौं । नागरिक लगानीकोषले सहायक कम्पनी स्थापना गरी सेयर बजारमा लगानी गर्ने भएको छ । केही समय अघि बजारलाई विश्वासिलो र दिगो बनाउने उद्देश्यले संस्थागत लगानीकर्ताहरुले सक्रिय सहभागिता जनाउनुपर्ने विषयमा अर्थमन्त्रालयमा सचिवस्तरीय छलफल भएको थियो । सोही अनुरुप कोषको बूधबार बसेको सञ्चालक समितिको वैठकले सहायक कम्पनी स्थापना गरी सेयर बजारमा लगानी गर्ने निर्णय गरेको हो ।

कोषसम्वद्ध सूत्रका अनुसार सहायक कम्पनीको प्रवन्धपत्र र नियमावली तयार गर्ने काम केही समयअघि देखि नै भैरहेको थियो । कोषले बजारमा आफ्नो दरिलो उपस्थिति देखाउने र विशिष्टकृत सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापनाको तयारी गरिरहेको थियो ।

कोषसँग प्रशस्त तरलता भएको र आफ्नो उद्देश्यमध्येमा पुँजी बजार पर्ने भएकाले लगानीको लागि तयारी गरिरहेको हो । लगानी वा विक्रीको निर्णय तत्काल गर्नुपर्ने भएकोले सहायक कम्पनीको व्यवस्थापनलाई प्रशस्त अधिकार र स्वायत्तता दिएर काममा लगाइने उक्त स्रोतको भनाई छ ।

कोषसँग अहिले झण्डै ६० अर्ब जत्तिको रकम जम्मा रहेको छ । त्यसमध्ये ३० प्रतिशत लगानी गर्न सकिने सीमा रहेको छ । तरलताको समुचित व्यवस्थापन हुनसक्ने गरी पुँजी बजारमा लगानी हुनेछ । प्राथमिक बजारमा त अहिले पनि लगानी भैरहेको छ अव दोस्रो बजारमार्फत पनि लगानी हुनेछ । असारको मध्यसम्ममा कम्पनी स्थापना भैसक्ने कोषले जनाइएको छ ।

संस्थागत लगानीकर्ताहरु बजारमा छिरेपछि कुनैपनि कम्पनीको सेयर अनावश्यकरुपमा बढेमा आफूसँग भएको सेयर बिक्री गरिदिने र बजारमूल्य घटेमा बजारबाट सेयर खरिद गर्ने काम कोषले गर्नेछ । जसले गर्दा सेयरको मूल्यमा स्थिरता आउने हुन्छ ।
यसैबीच कोषले आफूसँग जम्मा भएको रकमलाई लगानीमा विविधिकरण गर्न विदेशमा पनि लगानी गर्न राष्ट्र बैंकसँग कुराकानी भैरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL