Logo

सातामै ८५ अंक बढ्यो नेप्से, भुकम्प अघिको अवस्थामा पुग्न १२ अंक बाँकी

सातामै ८५ अंक बढ्यो नेप्से, भुकम्प अघिको अवस्थामा पुग्न १२ अंक बाँकी


रामराजा श्रेष्ठ
54
Shares

विजखबर संवाददाता

२३ जेठ, काठमाडौं । नेप्से परिसुचक महाभुकम्प अघिकै अवस्थामा फर्किन लागेको देखिएको छ । गत साता करीब ८५ अंक बढेपछि परिसूचक ९ सय २७ अंकको नजिक आएको छ । अब करीब १२ अंकको बृद्धिले नै नेप्सेलेलाई भुकम्पअघिको अवस्थामा पुर्याउने  छ ।

खासगरी राजनीतिक सहमतिमार्फत संविधान जारी हुने आशा र पुननिर्माणमा हुने लगानीले अर्थतन्त्र थप चलायमान हुने अपेक्षाका कारण लगानीकर्ताको मनोबल उच्च हुँदै गएको देखिएको छ ।

यसले नेप्सेलाई लगातार उचाइतर्फ डोर्याएको जानकारहरु बताउँछन् ।

‘तत्काल अनुमान गरिएजस्तो भुकम्पले धेरै ठूलो क्षति नपुगेको देखिन्छ,’ सेयर लगानीकर्ता जयराम तिवारी भन्छन्, ‘पुननिर्माणमा सरकार र निजी क्षेत्रले ठूलो लगानी गर्ने, वैदेशिक सहायतामा हुने बृद्धिले अर्थतन्त्र थप चलायमान हुने र ठूलो लगानीले रोजगारी र कुल गार्हस्थ्य उत्पादनमा समेत सुधार हुने सकारात्मक संभावनाहरु देखिएका छन् ।’ उनले राजनीतिक नेतृत्वमा छिट्टै संविधान जारी गरेर मुलुकलाई राजनीतिक निकास दिनुपर्छ भन्ने किसिमले सहमतिको वातावरण बन्दै गएकोप्रति लगानीकर्ता हर्सित भएको बताए ।

शेयर लगानीकर्ताहरुले धितोपत्र कारोबारलाई सीडीएस सञ्चालन र नेप्सेलाई पूर्ण स्वचालित  प्रणालीमा रुपान्तरण गरेर मुलुकभर कारोबार विस्तार गर्नुपर्ने बताएका छन् । ‘मुलुक ठूलो संकटमा फसेको र ठूलो लगानी आवस्यक रहेको यो बेलामा पूँजी बजारको दायरा बढाएर यसलाई ठूलो पूजि निर्माणको थलो बनाउनु आवस्यक छ,’ अर्का सेयर लगानीकर्ता दामोदरभक्त श्रेष्ठले भने, ‘अहिलेको सरकारले यो कुरा बुझेको छ र गर्छ भन्ने मलाई विस्वास छ ।’

केन्द्रिय बैंकले विभिन्न किसिमका ऋणपत्रहरुमार्फत ठूलो वित्तीय स्रोत जुटाइरहेको बेला ठूला भौतिक पुनर्निमाण परियोजनाहरुमा लगानी जुटाउन सरकारले पूँजी बजारको प्रयोगलाई बढावा दिनुपर्ने श्रेष्ठको तर्क छ ।

खासगरी नेप्सेमा ठूलो हिस्सा ओगटेको बैंक तथा वित्तीय संस्थाहरुको वासलातलाई भुकम्पले ठूलो धक्का नपुर्याउने अवस्था देखिएको छ । कर्जाको बीमा गरिएको हुने र कर्जा सुरक्षण निगमले पनि त्यसको सुरक्षण गरेको हुने भएकाले बैंक तथा वित्तीय संस्थाको कर्जा जोखिम न्यून रहेको अनुमान गरिएको छ ।

उता बीमा कम्पनीहरुले बेहोर्नुपर्ने भनिएको ठूलो दाबी भुक्तानीमा   पनि पुनर्बीमा कम्पनीहरुले नै अधिकांश जोखिम बहन गर्ने देखिएको छ । जलविद्युत् कम्पनीहरुमा पनि पहिले सोचेजस्तो ठूलो क्षति नदेखिएको लगानीकर्ताहरुले बताएका छन् । यसले शेयर बजार सूचकांकलाई क्रमशः सुधारोन्मुख बनाएको छ ।

गत साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीको सेयर कारोबार भए । कुल ९ हजार १ सय ५२ कारोबारबाट १ अर्ब २९ करोड २३ लाख ८६ हजार रुपैयाँ बराबरका ३१ लाख ९८ हजार ९ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार रकम अघिल्लो साताको तुलनामा ७३ दशमलव ३६ प्रतिशत बढि हो ।

गत साता १ सय ११ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ५ हजार १ सय ४७ कारोबारबाट ७४ करोड ५७ लाख ३१ हजार रुपैयाँ बराबरका १९ लाख १४ हजार ७ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

    गस साता कारोबार रकम (१० करोड ४९ लाख ७० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख १३ हजार कित्ता) को आधारमा नेपाल बैंक अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार संख्या (५ सय २ वटा) को आधारमा चिलिमे हाइड्रोपावर अग्रस्थानमा रहेको छ । गत साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

सधैझैं यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्
MBL