काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेमा कडाभन्दा कडा कारबाही हुने चेतावनी दिएका छन् ।
नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग बोल्दै गभर्नर पौडेलले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकिङ सेवा सबै तहसम्म पुर्याउने आफ्नो प्राथमिकता रहेको बताए।
‘ग्राहकलाई समस्यामा पार्ने, ऋण प्रवाहमा बहानाबाजी गर्ने र धितो लिलामीमा अनावश्यक दबाब दिने जस्ता गतिविधि सह्य हुँदैन,’ उनले भने, ‘यस्ता कार्यमा संलग्न बैंकलाई छुट छैन, तुरुन्त कारबाही हुन्छ।’
धनुषा जिल्लाका व्यापारीहरूले विगतमा बैंकहरूले ऋण लिएको आधारमा जटिल परिस्थिति सिर्जना गरी धितो लिलामी गरेको गुनासो गरेपछि गभर्नर पौडेलले कडा अभिव्यक्ति दिएका हुन्।
कार्यक्रममा सहभागी व्यवसायीहरूले साना व्यापारी तथा किसानले ऋणका लागि धाउँदा बैंकहरूले बेवास्ता गर्ने गरेको गुनासो गरे। सो अवसरमा बैंक प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिएर फिर्ता गर्न नसक्नेको संख्या उच्च रहेको जानकारी गराएका थिए।
गभर्नर पौडेलले भने, ‘धनी र गरिबबीचको आर्थिक दूरी घटाउनु मेरो पहिलो प्राथमिकता हो। त्यसका लागि मौद्रिक नीति अब वित्त नीतिको अनुकूल हुनुपर्छ। कम नियम, धेरै सुपरिवेक्षणमा म विश्वास गर्छु।’
उनले बैंकहरूको कर्जा सुविधा सीमित व्यक्तिमा केन्द्रित हुनु नमिल्ने र सर्वसाधारण तथा साना व्यवसायीले समेत सहज पहुँच पाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले छलफलका बुँदाहरू नीति निर्माणमा समावेश गरिने आश्वासन दिए।
उद्यमीहरूले व्यवसाय सञ्चालनका चुनौती, वित्तीय पहुँच र कर्जाको सहजता सम्बन्धी धारणा राख्दै यस्ता छलफल कार्यक्रम नियमित गर्न आग्रह गरे।