काठमाडौं । नेपाल टेलिकममा भएको आर्थिक अनियमिततासम्बन्धी छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनामाथि ३३ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गर्ने निर्णय गरेको छ।
आयोग स्रोतका अनुसार, उनीहरुविरुद्धको मुद्दा दर्ताका लागि फाइल विशेष अदालतमा पेश भइसकेको छ। भ्रष्टाचारको यो आरोप टेलिकमको बिलिङ प्रणाली र मर्मत शुल्कमा अनियमितता तथा चिनियाँ कम्पनी एसिया इन्फोसँगको मिलेमतोमा गरिएको भनिएको छ।
छानबिनमा पहाडीसहितको समूहले ‘नेगोसियसन’ को नाममा बिलिङ प्रणालीमार्फत कम्पनीलाई हानी पुर्याउँदै वार्षिक ६० करोड रुपैयाँभन्दा बढी घाटा गराएको आयोगको निष्कर्ष छ।
यस प्रकरणमा पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल, दुई जना सहसचिवसहित करिब ३० जना कर्मचारी तथा टेलिकम सञ्चालक समितिका पदाधिकारीहरुसँग अख्तियारले बयान लिएको थियो।