काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सबैभन्दा धेरै योगदान बागमती प्रदेशले गरेको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार बागमती प्रदेशको योगदान ३६.५२ प्रतिशत पुगेको छ।
त्यसपछि कोशी प्रदेशको योगदान १५.९० प्रतिशत, लुम्बिनी प्रदेशको १४.२३ प्रतिशत, मधेश प्रदेशको १३.१६ प्रतिशत, गण्डकी प्रदेशको ८.९८ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७.०३ प्रतिशत र कर्णाली प्रदेशको योगदान ४.१९ प्रतिशत रहेको छ। कर्णाली प्रदेशको योगदान सबैभन्दा कम देखिएको छ, जसले मुलुकको समग्र आर्थिक सन्तुलनमा असमानता झल्काएको छ।
गत आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमानसँग तुलना गर्दा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको योगदान केही घटेको छ भने मधेश र बागमती प्रदेशको योगदानमा वृद्धि भएको देखिन्छ।
आर्थिक वृद्धिदरको हिसाबले गण्डकी प्रदेश सबैभन्दा अगाडि देखिएको छ, जहाँ उपभोक्ताको मूल्यमा आधारित जीडीपी वृद्धिदर ५.५१ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ। त्यसपछि बागमती प्रदेशको वृद्धिदर ५.१८ प्रतिशत रहेको छ। सबैभन्दा कम वृद्धिदर सुदूरपश्चिम प्रदेशमा देखिएको छ, जहाँ वृद्धिदर ३.३२ प्रतिशत मात्र रहेको छ।
राष्ट्रव्यापी औसत वृद्धिदर ४.६१ प्रतिशत रहेको सन्दर्भमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको वृद्धिदर औसतभन्दा माथि देखिएको छ भने बाँकी प्रदेशहरूको वृद्धिदर औसतभन्दा तल रहेको देखिन्छ।
विगत तीन वर्षको तथ्यांक हेर्दा अधिकांश प्रदेशमा वृद्धिदर विस्तारै बढेको देखिए तापनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा आर्थिक सुधारको गति कमजोर देखिन्छ। यसले प्रदेशबीचको आर्थिक असमानता र नीति निर्माणमा क्षेत्रीय सन्तुलन कायम गर्नुपर्ने आवश्यकता कार्यालयले औंल्याएको छ।