Logo

सरकारी बैंक भन्दैमा बिजनेश नै नहुने ठाउँमा जान सकिँदैन

सरकारी बैंक भन्दैमा बिजनेश नै नहुने ठाउँमा जान सकिँदैन


रामराजा श्रेष्ठ
27
Shares

चालु आर्थिक वर्षभित्र ३ अर्व रुपैयाँभन्दा बढीको आइपीओ जारी गर्दैछौं । हाल स्वीकृतिको लागि सरकार समक्ष पेश गरेका छौं । स्वीकृति भएर आएपछि साधारण आइपीओ जारी गर्ने वा प्रिमियमा जारी गर्ने भन्ने विषयमा टुङ्गो लाग्नेछ ।

हाल वाणिज्य बैंकले स्वर्ण जयन्ती मनाइरहेको छ । सो अवसले उसले ग्राहक लक्षित विभिन्न योजनाहरु ल्याएको छ । बैंकको वित्तीय अवस्था, भावी योजना, कर्जा असुलीजस्ता विषयमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मासँग गरेको कुराकानीको सार ः

बैंकको स्वर्ण जयन्ती मनाइरहनु भएको छ । यो अवस्थामा बैंकलाई अघि बढाउनका लागि के–कस्ता योजना ल्याउनु भएको छ ?

वाणिज्य बैंकको इतिहासमा धेरै नै समस्या व्यहोर्नु प¥यो । एकात्मक, नियन्त्रणात्मक हुँदै प्रतिस्पर्धात्मक बैंकिङ प्रणालीमा प्रवेश गरेका छौं । केही समय बैंकले ठूलो घाटा व्यहोरेको थियो तर अहिले त्यसलाई पूर्ति गर्दै स्वच्छ र सवल बैंकको रुपमा अघि बढेको छ ।
आगामी दिनमा ग्राहकहरुको सेवा सुविधामा बृद्धि गरी बैंकिङ व्यवसायलाई मर्यादित बनाउँदै लैजाने छौं । वित्तीय साक्षरताका साथै सामाजिक कार्यलाई अघि बढाउने । यस वर्ष विशेषगरी समावेशी बैंकिङ प्रणालीलाई अघि बढाएर देशका ग्रामीण क्षेत्रमा पुग्ने लक्ष्य लिइएको छ । यस अघि विस्थापित भएका शाखा कार्यलयलाई स्थापित गर्नुका साथै बैंकिङ सेवा नपुगेका स्थानमा नयाँ शाखा स्थापना गर्ने योजना बनाएका छौं ।

भर्खरै मात्र ३० प्रतिशत पब्लिकका सेयर जारी गर्ने घोषणा गर्नु भएको छ । बजारमा यो कहिलेसम्म आउनेछ ?

इनिशियल पब्लिक सेयर (आइपीओ) जारी गर्नका लागि हामीले विभिन्न इण्डिकेटर पुरा गरेका छौं । यसलाई स्वीकृतिका लागि सरकार समक्ष पेश गरेका छौं । यदि सरकारले स्वीकृति दिएमा यस आर्थिक वर्ष भित्रै आइपीओ जारी गर्नेछौं । हामीले ३० प्रतिशत जारी गर्ने निर्णय गरेका छौं । बैंकको चुक्ता पूँजी ८ अर्व ५८ करोड रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत सेयर जारी गर्दा बजारमा ३ अर्व रुपैयाँ बराबरको आइपीओ आउनेछ ।

krishna-pd-sharma2

बैंकले साधारण सेयर जारी गर्छ कि प्रिमियममा ?

यो कानुनी व्यस्थामा पनि भर पर्छ । तर, वाणिज्य बैंकले ५० वर्ष पुरा गरिसकेको छ । ७ वर्षदेखि लगातार नाफामा छ । यसको सवै इण्डिकेटर राम्रै छ । बजारमा अन्य सरकारी बैंकको सेयर मुल्य बढी नै छ । जसले गर्दा प्रिमियमा मुल्यमा पनि सेयर विक्नसकने अवस्था छ । अहिलेसम्म कुन सेयर जारी गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन ।

प्रिमिय सेयर जारी गर्न बैंकले धितोपत्र बोर्डको नियमअनुसार सवै इण्डिकेटरहरु पुरा गर्छ ?

इण्डिकेटर पुरा नगरी प्रिमियम सेयर जारी गर्दैनौं । बैंक त्यस्ता इण्डिकेटर पुरा गर्न प्रयासरत छ । यस्तै, नियमनकारी निकायले कसरी स्वीकृति दिन्छ त्यसमा पनि भर पर्छ ।

बैंकले द्वन्द्व कालमा विस्थापित भएको शाखाहरु कहिलेसम्म पुर्नस्थापना गर्नेछ ?

द्वन्द्वकालमा बैंकको १ सय ५ वटा शाखा कार्यालय विस्थापित भएका थिए । त्यसमध्ये ४७ वटा पुर्नस्थापना भइसके । अन्य ठाउँमा पनि शाखा वा ब्राञ्चलेस बैंकिङ संचालनमा ल्याउँदै छौं । द्वन्द्वकालमा विस्थापित भएका सम्पूर्ण शाखालाई कुनै न कुनै रुपमा आगामी आर्थिक वर्षसम्म पुर्नस्थापना गर्नेछौं ।

तत्काल पर्नस्थापना गर्न केले रोकिरहेको छ ?

द्वन्द्वकालका धेरै शाखा कार्यालय विस्थापित भएका थिए । त्यसका लागि घर खोज्नु प¥यो । यस्तै, बजार सम्भाव्यताको पनि अध्ययन गर्नु पर्छ । शाखाको लागि टेलिफोन, विजुली, इण्टरनेटको सुविधाका साथै कर्मचारीको पनि व्यवस्था नर्गुपर्छ । सो कार्यका लागि अझै केही समय लाग्छ ।

अन्य बैंकको तुलनमा यस बैंकको संचालन खर्च एकदमै बढी छ । किन यसलाई न्युनिकरण नगरेको ?

अपरेशन खर्चमा चाहीँ अन्य बैंक सरह नै छौं । तर, हाम्रो एचआर कस्ट चाहीँ ३/४ गुणा नै बढी छ । यसलाई पनि घटाउने प्रयास गरिरहेका छौं । पहिला बैंकमा ५ हजार ८ सय कर्मचारी थिए । यसलाई घटाएर २ हजार ५ सयमा झारेका छौं । आगामी दिनमा आधुनिक बैंकिङ् कार्यान्वयनमा ल्याएर थोरै कर्मचारी मार्फत धेरै ग्राहकलाई सुविधा दिने योजना बनाएका छौं ।

त्यति नै कर्मचारी राख्दा त यो खर्च घट्दैन होला । आगामी दिनम कर्मचारी कटौतीको योजना पनि ल्याउँदै छौ कि ?

स्थायी रुपमा आएका कर्मचारीलाई त्यतिकै हटाउन मिल्दैन । विगतमा भोलेन्टरी रिटायरमेन्ट स्किम ल्याउँदा २ हजारभन्दा बढी कर्मचारीले अवकाश लिए । अहिले पनि कतिपय कर्मचारीले नियमित अवकाश पाउँदैछन् । तर, अन्य बैंकको तुलनामा यस बैंकमा कर्मचारी खर्च अलि बढी नै हुन्छ । अन्य बैंकले बढी नाफा हुने निश्चित एरियामा मात्र बैंकिङ सुविधा दिएका छन् । यो सरकारी बैंक भएकाले नाफा नहुने स्थानमा पनि जानुपर्छ । यसले सरकारी कारोवार गर्नुका साथै, बृद्ध भत्ता समेत बाडिरहेका छौं । यसका लागि बढी नै कर्मचारी चाहिन्छ ।

सरकारी बैंक भएर पनि सम्पूर्ण जिल्लाबाट बैंकिङ सुविधा दिन सकिरहेको छैन नि ?

अहिले ६७ जिल्लाबाट बैंकिङ सुविधा दिँदै आएका छौं । बाणिज्य बैंक नपुगेका कतिपय स्थानामा नेपाल बैंक र कृषि विकास बैंकले सुविधा दिइरहेका छन् । मनाङ, मुस्ताङ, डोल्पालगायतका जिल्लामा ती बैंकलाई नै विजनेश पुगेको छैन । हाल तेह्रथुम, ताप्लेजुङ, सल्यान, रसुवालगायताका जिल्लामा सम्भाव्यता अध्ययन गरिरहेका छौं भने पाँचथरमा यही महिनाभित्रै शाखा खोल्दैछौं ।

तथ्याङ्क अनुसार नेपालका ४० प्रतिशत जनता मात्र बैंकिङ पहुँचमा छन् । निजी क्षेत्रका बैंकले बढी नाफा हुने क्षेत्रलाई बढी फोकस गरिरहेको देखिन्छ । तर, सरकारी बैंकले किन सम्पूर्ण जनतालाई समेट्नेगरी कुनै एउटा प्याकेज ल्याउन सकेन ?

नेपालका ६० प्रतिशत जनसंख्या अझैपनि बैंकिङ सुविधाबाट वाहिर छन् । हामीले उनीहरुलाई पनि बैंकिङ प्रणालीमा ल्याउन सक्दो प्रयास गरिरहेका छौं । पछिल्लो समय ब्राञ्चलेस बैंकिङ, मोवाइल बैंकिङजस्ता सुविधा ल्याएका छौं । तर, सरकारी बैंक भन्दैमा व्यवसाय नै नहुने ठाउँमा जाने कुरा पनि भएन नि । हामी पनि आफ्नै खर्चमा चल्नुपर्छ, कर्मचारीलाई तलव खुवाउनुपर्छ । विजनेश नै नुहुने ठाउँमा गएर घाटा व्यहोर्नु वाहेक केही हुँदैन र त्यसो गर्न चाहँदैनौं ।

सुचना प्रविधिको कुरा गर्दा निजी बैंकसँग प्रतिस्पर्धात्मक रुपमा आउन सकिरहेको देखिँदैन । पूँजीको तुलनामा नाफाको हिसाव गर्ने हो भने पनि एकदमै कम छ । तँपाइहरुलाई कहिलेसम्म सरकारले प्रोटेक्ट गर्ने ?

सरकारले बैंकमा पूँजी हाल्ने काम गरेको छ । यसैगरी, वित्तीय क्षेत्र सुधार ल्याउन विदेशी व्यवस्थापन ल्याउने काम ग¥यो । यस वाहेक अन्य सवै विषयमा हामीलाई समान व्यवहार नै छ । हामी पनि सरकारी बैंक भनेर चुप लागेर वसेका छौं । ग्राहक संख्या, निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिदरमा हामी नै अघि नै छौं । बैंकको सेवा सुविधा राम्रो भएर नै हामीप्रति ग्राहक आकर्षित भएका हुन् । सवै शाखालाई कम्प्युटरिकृति गरिसकेका छौं । प्रविधिमा पनि अन्य बैंकभन्दा कम छैनौं ।

krishna-pd-sharma

बैंकको सीडी रेसियो ६१ प्रतिशतमात्र छ । यो त एकदमै कम भएन र ?

त्यो बैंकमा भर पर्ने विषय हो । नेपाल राष्ट्र बैंकले सीडी रेसियो ८० प्रतिशतभन्दा माथी नजान निर्देशन दिएको छ । हाम्रो हकमा सीडी रेसियो ७० प्रतिशत उपयुक्त लागेको छ त्यसलाई चालू आव भित्रै पु¥याउँछौं । यो सरकारी बैंक भएकोले विभिन्न खालका सरकारी खर्च यसै बैंकमार्फत हुन्छ । कुन समयमा कति पैसा खर्च हुन्छ थाहा हुँदैन । तसर्थ अन्य बैंकको तुलनामा केही तरल बस्नुपर्ने हुन्छ । अहिले मुद्रा बजारले राम्रो रिर्टन दिन सकेको छैन त्यसले गर्दा केही समस्या आएकोे हो । यदि त्यसले राम्रो रिटर्न दिने हो भने सीडी रेसियो ७० प्रतिशतमै बस्नु उपयुक्त हुन्छ ।

तपाइको भनाइमा अलिहेको ९ प्रतिशत तरलतालाई कुन–कुन क्षेत्रमा लगानी गर्ने योजना बनाउनु भएको छ ?

बैंकको पहिलो प्राथमिकता साना तथा मझौला कर्जा नै हो । त्यस्ता क्षेत्रमा लगानी बढाउनका लागि  शाखा तथा क्षेत्रिय कार्यालयहरुको अधिकार बृद्धि गरिएको छ । त्यसैगरी, टुरिजम क्षैत्रमा लगानी गर्दै आएका छौं । अहिले विभिन्न ठूला उद्योगहरुमा लगानी गर्न छलफल भइरहेको छ ।

खराव कर्जा असुलीका लागि बैकले वर्षेनी विभिन्न स्किम ल्याइरहेको छ । तैपनि त्यस्ता कर्जा उठन् सकेको छैन नि ?

१० वर्ष अघि खराव कर्जा १६ अर्व रुपैयाँ थियो । अहिले त्यो २ अर्वमा झरेको छ । यसैगरी, ४ अर्व रुपैयाँ अपलेखन गरेको कर्जा छ । बैंकले यस वर्ष २ वटा स्किमबाट कर्जा उठाउने लक्ष्य लिएको छ । जसमा १ करोडभन्दा कमका कर्जाका लागि छुट्टै स्किम रहेको छ त्यसमा आधारित रहेर ऋणीहरुले आफुखुशी तिर्न सक्नेछन् । १ करोड रुपैयाँभन्दा बढीको कर्जाको हकमा भने उच्च स्तरिय निर्णय गरेर टुङ्ग्याइने छ । यस आवभित्र भाका नाधेका कर्जालाई कुनै न कुनै रुपमा समाधान गर्नेछौं ।
भाखा नाघेका १ करोडभन्दा बढी कर्जा लिने ६४ वटा ग्रुप छन् । उनीहरुले १ करोडदेखि ८४ करोड रुपैयाँसम्म कर्जा लिएका छन् । अपलेखन समेत गरी भाका नाघेका ठूला कर्जा झण्डै ४ अर्व रुपैयाँ रहेको छ ।

बैंकले व्यवसायिक कर्जाको लागि छुट्टै योजना ल्याउँदै छ । यसलाई कसरी कार्यान्वयनमा ल्याइनेछ ?

यो राष्ट्र सेवक कर्मचारी, शिक्षक, डक्टर, इञ्जिनियर, वकिल, चार्टर एकाउन्टेन्ट, पूर्व राष्ट्र सेवक कर्मचारीका लागि ल्याएका हौं । यसको विषयमा स्किम बन्दैछ । यो बढीमा १० लाख रुपैयाँसम्मको हुनेछ । यो सम्बन्धित व्यक्तिको आम्दानीको आधारमा दिइने छ । यस्तैगरी, विपन्न वर्गका लागि २  लाखसम्मको कर्जा प्रवाह गरिरहेका छौं । त्यस्ता कर्जाको बीमा बैंक स्वयमले नै गर्दै आएको छ । त्यस्ता कर्जा लिएका व्यक्तिलाई केही भएमा वा व्यवसाय भवितव्यमा परेमा सो रकम बीमा बाटै लिन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL