काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकै पटक तिरेको छ। गत पुस २८ गतेको मूल्यांकनअनुसार संस्थानले एक करोड दुई लाख ८७ हजार नौ सय २६ रूपैयाँ सम्पत्ति कर महानगरलाई बुझाएको हो। संस्थानले आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको घरजग्गा र सम्पत्ति कर दाखिला गरेको काठमाडौँ महानगरपालिका वडा २६ का सचिव केदार रिमालले जानकारी दिए।
महानगरपालिकाको राजस्व विभागले यसअघि सरकारका स्वामित्वमा रहेका १२ वटा व्यावसायिक संघसंस्थालाई कर दाखिला गर्न पत्राचार गरेको थियो। राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनमा सम्पत्ति करको दर, गणना, र संकलन प्रक्रियाबारे स्पष्ट व्यवस्था गरिएको छ। राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानिने र त्यसपछि सम्पत्ति कर गणना गरिने व्यवस्था छ।
प्रमुख अधिकारीले करदाताहरू पत्राचारपछि सम्पर्कमा आउन थालेकोमा सकारात्मक प्रतिक्रिया दिएका छन्। उनका अनुसार आर्थिक ऐनमा गरिएको बक्यौता कर असुलीसम्बन्धी व्यवस्थाअनुसार राजस्व असुल गरिनेछ। यदि कर दाखिला नगर्ने करदाताहरू भेटिएमा राजस्व विभाग वा वडा कार्यालयले ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत जानकारी दिने प्रावधान छ। आवश्यक परेको खण्डमा राजस्व विभागका प्रमुखको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले १० दिनसम्म थप समय दिनसक्ने व्यवस्था छ।