Logo

हाम्रो पुनर्बीमालाई स्वीस रि र जीआइसी रिजस्ता कम्पनीको लेभलमा पुर्याउनेछौं ।

हाम्रो पुनर्बीमालाई स्वीस रि र जीआइसी रिजस्ता कम्पनीको लेभलमा पुर्याउनेछौं ।


रामराजा श्रेष्ठ
0
Shares

शुरुका वर्षमा बढी जोखिम हुने खालका व्यवसाय लिँदैनौं । त्यसो भन्दैमा हामी सधै जोखिमबाट पन्छिने भन्ने होइन । त्यस्ता जोखिमको व्यवसाय लिँदा हामी अन्य कम्पनीमा बीमा गराउँछौं ।

नेपालमा भर्खरै मात्र पुनर्बीमा कम्पनी संचालनमा आएको छ । यसले आगामी दिनमा कसरी व्यवसाय अघि बढाउँदै छ ? कम्पनीको व्यवसायिक योजना, समस्या, पूँजी संरचनाजस्ता विषयमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अघिकृत रमेश लम्सालसँग गरेको कुराकानीको सार ः

पुनर्बीमा कम्पनी सञ्चालनको सोंच कसरी आयो ?

नेपालबाट वर्षेनी बीमा वापत २ अर्वभन्दा बढी प्रिमियम बाहिर गइरहेको छ । वर्षेनी प्रिमियम वाहिरीने दर पनि बढीरहेको छ । यसरी बाहिरीरहने बीमा वापतको अर्वो रुपैयाँ प्रिमियम रकमलाई नेपालमा राख्न यस्तो सोंच ल्याएका हौं ।  नेपालमा जीवन र निर्जिवन गरी २६ वटा बीमा कम्पनी छन् तर अहिलेसम्म एउटा पनि पुर्नबीमा कम्पनी छैन । यो एकदमै ठूलो विडम्वना हो । उदाहरणका लागि भुटानमा ३ वटा बीमा कम्पनी छ, तर त्यहाँ उसको आफ्नै पुनर्बीमा कम्पनी छ । नेपाल सरकारले करिब ५ बर्षअघिदेखि आकस्मिक बीमा कोषलाई पुनर्बीमा कम्पनीमा परिवर्तन गर्ने लक्ष्य लिएको थियो । अहिले हाम्रो प्रयास सफल भएको छ । बीमा बढ्दै गएको सर्वसाधारणको आकर्षणलाई सम्बोधन गर्न पनि हामीले यो सञ्चालनमा ल्याएका हौं ।

तुलनात्मक रूपमा अलि फरक किसिमको व्यवसाय गर्दै हुनुहन्छ । व्यावसायिक चुनौती सामना गर्ने आधारहरू तयार छन् त ?

नेपालमा भर्खरै मात्र पुनर्बीमा कम्पनी सञ्चालनमा आएको छ । यसअर्थमा यो शिशु अवस्थामै छ । हाम्रो स्ट्राटेजी अनुसार काम गर्न विभिन्न समिति तथा उपसमितिहरू छन् । अहिले हामी पुनर्बीमा कम्पनी सम्बन्धि विभिन्न अभ्यासहरूको अध्ययन पनि गरिरहेका छौं । खासगरी ३ चरण अन्तर्गत हाम्रो व्यवसायीक योजना बनेको छ । पहिलो २ वर्ष हामी आफै सक्षम बन्ने प्रयासमा हुनेछौं । यसले स्वदेशी व्यवसाय व्यवस्थापन गर्न सकिन्छ । त्यसपछिको २ वर्ष सार्क मुलुक र एसियन मुलुकमा व्यवसाय विस्तारका लागि जान्छौं । पाँचौं वर्षदेखि युरोप, अमेरिकालगायत अन्य अन्तरराष्ट्रिय बजारमा समेत बजार विस्तार गर्नेछौं ।

तपाइहरूको योजना अनुसार विदेशी कम्पनी यही पूँजी संरचनालाई आधार मानेर बीमाका लागि तयार हुन्छन् त ?

आवश्यकता नै आविष्कारको जननी हो । हरेक किसिमबाट सक्षम हुँदै जाने हाम्रो तयारी छ । यो अनुभवको आधारमा सिक्ने विषय पनि हो । स्वीट्जरल्याण्डको स्वीस रि, भारतको जीआइसी रिजस्ता कम्पनीको लेभलमा पुग्ने  हाम्रो लक्ष्य हो ।

अहिले विदेशमा पुनर्बीमा गराइरहेका नेपाली कम्पनीले यहिं बाट त्यस्तो काम गर्दा के फाईदा लिन सक्छन् ?

मुख्य कुरा क्लेमको हुन्छ । आफ्नै देशमा क्लेम लिँदा सजिलो हुन्छ । उनीहरुले सहज र छिटो रुपमा दावी भुक्तानी पाउन सक्छन् । विदेशमा बीमा गराउँदा कुनै क्षति भएमा विदेशबाटै सर्भेयर ल्याएर परिक्षण गराउनु पर्छ । त्यसको लागि बढी खर्च लाग्छ । तर, नेपालमै गराउँदा त्यो भार व्यहोर्नु पर्दैन । जसले खर्च घटाउनुका साथै विश्वासनियता समेत बढाउँछ ।

प्रिमियममा चाहीं के फरक हुन्छ ?

त्यो विषयमा बीमा समितिले पनि गृहकार्य गर्दैछ । उसले पनि कस्ता खालका बीमा गराउँदा कति प्रिमियम लिने भन्ने कुरा निर्धारण गर्नेछ । विशेषगरी बीमाको प्रिमियमदर अनुभवदरमा भर पर्ने विषय हो । यसमा वर्षेनी थपघट गर्न सकिन्छ । यो ‘रिक्स’ लिने व्यवसाय हो । प्रिमियम पनि सोही आधारमा निर्धारण हुनेछ ।

उदाहरणका लागि कुनै ठूलै दुर्घटना भयो । तर, अहिलेकै पूँजी संरचनाले त त्यसको दाबी भुक्तानी गर्न सकिदैंन । त्यस्तो जोखिम चाहीँ कसरी व्यवस्थापन गर्नुहुन्छ ?

पहिलो कुरा व्यवसाय लिँदा नै त्यसको जोखिमको वारेमा अध्ययन गरिनेछ । शुरुका वर्षमा बढी जोखिम हुने खालका व्यवसाय लिँदैनौं । त्यसो भन्दैमा हामी सधै जोखिमबाट पन्छिने भन्ने होइन । त्यस्ता जोखिमको व्यवसाय लिँदा हामी कम्पनीमा बीमा गराउँछौं । तसर्थ यदि कुनै दर्घटना भएमा त्यसको सहज रुपमा व्यवस्थापन गर्न सक्नेछौं ।

कम्पनी स्थापना गर्दा निर्जीवन कम्पनीलाई मात्र समेट्नु भएको छ । यसले विवाद त ल्याउँदैन ?

यो पुरै नयाँ स्थापना गरिएको कम्पनी होइन । विगतको आकस्मिक बीमा कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गरिएको मात्र हो । त्यतिबेला कोषमा निर्जीवन बीमा कम्पनीको मात्र सेयर रहेको थियो । जसले गर्दा कम्पनी स्थापना गर्दा पनि निर्जीवनको मात्र सेयर भएको हो । आगामी दिनमा जीवन बीमा गर्ने कम्पनीलाई पनि समेट्दै छौं । जसका लागि १८ प्रतिशत सेयर सुरक्षित गरेर राखेका छौं ।

कम्पनी स्थापना गर्दा नेपालका बीमा कम्पनीलाई अनिवार्य रुपमा नेपालकै कम्पनीमा पुनर्बीमा गर्न लगाउँछौं भन्नु भएको थियो । तर, बीमा सम्बन्धी नीतिनियम अनुसार त्यसो गर्न मिल्दैन । यो अवस्थामा कसरी अघि बढ्नुहुन्छ ?

त्यतिबेला हामीले जसरी भएपनि नेपालको व्यवसायलाई नेपालमै राख्ने भनेका हौं । जसबाट पुनर्बीमा कम्पनी सहज रुपमा चल्न सक्नेछ । तर, हामीले बाध्यकारी बनाउन लागेका भने होइनौं । बाध्यकारी बनाउनु पर्ने जरुरी पनि छैन । हाम्रो ग्राहक भनेको नेपालका २६ वटा बीमा कम्पनीहरू हुन् । पुनर्बीमा कम्पनीको मालिक पनि तिनै कम्पनी नै हुन् । तसर्थ उनीहरुले आफ्नो कम्पनीलाई व्यवसाय नदिएर विदेशी कम्पनीलाई दिन्छन् भन्ने परिकल्पना नै नगरौं । उनीहरुले खुशीका साथ नेपाली कम्पनीमा नै पुनर्बीमा गराउँछन् । यसमा कुनै शङ्का छैन ।

कम्पनीका रूपमा आइपीओ जारी गर्ने विषयमा के योजना बनाउनुभएको छ ?

कानुनी रुपमा तत्काल आइपीओ जारी गर्नु पर्दैन । हाम्रो सेयर होल्डरहरु पब्लिक कम्पनीहरु हुन् । उनीहरुले यसअघि नै आइपीओ जारी गरिसकेका छन् । त्यसले गर्दा हामीलाई तत्कालै आइपीओ जारी गर्नुपर्ने वाध्यता छैन । तर, यसोभन्दैमा आइपीओ नै जारी गर्दैनौं भन्ने होइन ।

कम्पनी त स्थापना भयो । व्यवसाय चाहीँ कहिलेबाट शुरु हुन्छ ?

हामीले आगामी आर्थिक वर्षको शुरु देखिकै जोखिक कभर गर्ने गरी व्यवसाय शुरू गर्दैछौं । २०७२ सालको को बैंशाखसम्ममा पूर्ण रुपमा तयार हुनेछौं ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL