Logo

आधा वाणिज्य बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा, कुन बैंकको वितरणयोग्य नाफा कति छ ?

आधा वाणिज्य बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा, कुन बैंकको वितरणयोग्य नाफा कति छ ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) आउँदा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये आधा वाणिज्य बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका छन् । अर्थतन्त्रमा देखिएको मन्दीको कारण बैंकिङ क्षेत्रलाई पछिल्लो समय कर्जाको ब्याज उठाउन सकस परेको छ । जसको कारण बैंकहरुको वितरण योग्य नाफामा असर देखिएको हो ।

laxmi

चालु आर्थिक वर्षको ८ महिनासम्म २० वाणिज्य बैंकहरुको मात्र साढे १ खर्ब रुपैयाँभन्दा धेरै ब्याज बक्यौता रहेको छ । अहिले बैंकले लगानी गरेको कर्जाको उठाउनुपर्ने सावा र ब्याज उठाउन नसक्दा बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक बन्न पुगेको हो । वितरणयोग्य नाफा घटेको कारण चालु आर्थिक वर्षको नाफाबाट वाणिज्य बैंकले आफ्ना सेयर लगानीकर्तालाई दिने लाभांश पनि घट्ने अवस्था रहेको छ ।

अर्थतन्त्रमा देखिएको समस्याको कारण पछिल्लो समय बैंकहरुको कर्जा असुली प्रभावित भएको छ । जसको कारण बैंकिङ क्षेत्रको खराब कर्जा पनि आकाशिएको छ । बैंकले सम्भावित कर्जा नोक्सानीका लागि गर्ने ‘प्रोभिजन’ पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास चैत मसान्तसम्म आउँदा सबैभन्दा धेरै वितरणयोग्य नाफा ऋणात्मक भएको बैंक हिमालयन बैंक रहेको छ । यस बैंकको वितरणयोग्य नाफा गत आर्थिक वर्षमा पनि ऋणात्मक थियो । जसको कारण यस बैंकले गत आर्थिक वर्षको नाफाबाट पनि आफ्ना सेयर लगानीकर्तालाई लाभांश बाँड्न सकेको थिएन ।

एनएमबि बैंकको वितरणयोग्य नाफा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ अर्ब २४ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यसैगरी, यस अवधिमा सबैभन्दा धेरै वितरणयोग्य नाफामा ऋणात्मक बनेको बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकको वितरणयोग्य नाफा यस अवधिमा ५ अर्ब ८ करोड १६ लाख रुपैयाँ ऋणात्मक बन्न पुगेको छ ।

यसैगरी, एनएमबि बैंकको वितरणयोग्य नाफा ४२ करोड ९२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ४२ करोड ३१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ३० करोड ५६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ, नेपाल बैंक १ अर्ब ४ करोड ६६ लाख रुपैयाँ, लक्ष्मी सनराईज बैंक १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ र सिद्धार्थ बैंक २७ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यता यस अवधीमा सबैभन्दा धेरै वितरणयोग्य नाफा भएको बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यस बैंकको वितरणयोग्य नाफा यस अवधिसम्म आउँदा २ अर्ब ८१ करोड ७२ लाख रुपैयाँ रहेको छ । यसैगरी, एभरेष्ट बैंक सबैभन्दा धेरै वितरणयोग्य नाफा हुने दोस्रो बैंक रहेको छ । यस बैंकको यस्तो नाफा चैत मसान्तसम्म २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ रहेको छ ।

कृषि विकास बैंकको यस्तो नाफा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा २४ करोाड ६२ लाख रुपैयाँ, नबिल बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ, सिटिजन्स बैंकको १ करोढ ८९ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ८३ करोड ४३ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ३१ करोड ३३ लाख रुपैयाँ, सानिमा बैंकको ७५ करोड ६८ लाख रुपैयाँ र प्रभु बैंकको १६ करोड ६५ लाख रुपैयाँ रहेको छ । यी दश बैंकले भने चालु आर्थिक वर्षमा आफ्ना सेयर लगानीकर्तालाई लाभांश बाँड्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL