Logo

दोस्रो त्रैमाससम्म ६ बैंक वित्तीय संस्थाका सीईओ र संचालक राष्ट्र बैंकको कारबाहीमा, कसलाई के सजाय ?

दोस्रो त्रैमाससम्म ६ बैंक वित्तीय संस्थाका सीईओ र संचालक राष्ट्र बैंकको कारबाहीमा, कसलाई के सजाय ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको पछिल्लो दोस्रो त्रैमाससम्म विभिन्न ६ बैंक वित्तीय संस्थाका सीईओ र संचालकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार यस्तो कारबाहीमा पर्नेमा ३ वाणिज्य बैंक र ३ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत र संचालक समिति छन् । जसमध्ये ग्लोबल आइएमई बैंकका सीईओलाई राष्ट्र बैंकले एकीकृत निर्देशनविपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिईएकोमा सोही अनुसार कतिपय ग्राहकको खातामा फिर्ता नगरेको आरोप लगाएको छ ।

laxmi

यस्तै उक्त बैंकले गत आवमा पुनःनिर्देशन विपरीत प्रिमियम दर बढाईएको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २÷०७९ अनुसार कर्जा दुरुपयोग भएको, व्यवसाय संचालनमा नरहेको, लिलामी प्रकृयामा रहेको, डीई रेसियो नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको बताएको छ ।

ग्लोबल आइएमई बैंकले पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्दा निष्कृय कर्जाहरुको समेत पुनरतालिकीकरण ÷पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गिकरण गरेको राष्ट्र बैंकले भेटाएको हो ।

जसका कारण ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम नसिहत दिईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै सञ्चालक÷सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी राष्ट्र बैंकबाट जारी निर्देशन उल्लङ्घन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई पनि राष्ट्र बैंकले सचेत गराएको हो ।

यता प्रभु बैंकले भने कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, प्रिमियम दर वृद्घि गरी व्याज असुल उपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा क्यापिटल एडिक्वेसी फ्रेमर्वर्क २०१५ को व्यवस्था विपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको उल्लेख छ । यसका कारण राष्ट्र बैंकले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको जानकारी दिएको छ ।

यस्तै राष्ट्र बैंकले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत र बैंक संचालक समिति, मुक्तिनाथ विकास बैंक संचालक समिति, गरिमा विकास बैंकका संचालक र रिलायन्स फाईनान्सका संचालक कुशप्रसाद मल्लीलाई सचेत गराएको हो ।
यसमध्ये मुक्तिनाथ विकास बैंकलाई भने १० लाख रुपैयाँ जरिवाना तिराईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL