Logo

मंसिरमा ६ खर्बले बढ्यो विद्युतीय भुक्तानी, एटिएमबाट पैसा झिक्ने घटे

मंसिरमा ६ खर्बले बढ्यो विद्युतीय भुक्तानी, एटिएमबाट पैसा झिक्ने घटे



काठमाडौं । चालु आर्थिक बर्षको मंसिरमा मात्रै नेपालमा विद्युतीय भुक्तानी उच्च बढेको छ । यसअघि लगातार ओरालो लागिरहेको यस्तो भुक्तानी मंसिरमा भने उकालो लागेको हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार विद्युतीय भुक्तानी मंसिरमा मात्रै ६ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँले बढेको हो । अर्थात कार्तिकमा ३५ खर्ब ४६ अर्ब रुपैयाँ बराबर भएको यस्तो भुक्तानी मंसिरमा बढेर ४१ खर्ब ६५ अर्ब रुपैयाँ बढी पुगेको हो ।

laxmi

यो अवधिमा विद्युतीय भुक्तानीको संख्या पनि कार्तिकको तुलनामा ८५ लाख ५८ हजार पटकले बढेको छ । गएको कार्तिकमा ८ करोड ५८ लाख १९ हजार पटक भएको यस्तो भुक्तानी मंसिरमा बढेर ९ करोड ४३ लाख ७८ हजार पटकले बढेको छ ।
राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा भुक्तानी बढ्नुमा सबैभन्दा ठुलो योगदान भने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)को छ । खासगरी सरकारका ठुला भुक्तानी तथा उद्योगी व्यापारीका अन्तरराष्ट्रिय भुक्तानी पनि यसै माध्यममार्फत हुने भएकाले विद्युतीय भुक्तानीमा पनि यसको हिस्सा ठुलो छ । तर कार्तिकको तुलनामा मंसिरमा आरटीजीएसमार्फत हुने भुक्तानी र भुक्तानीको संख्या दुबै उच्च रुपमा बढेको पाईएको छ ।

राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा कार्तिकको तुलनामा मंसिरमा इसीसीमार्फत हुने भुक्तानी ३ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँले बढेको छ । गएको कार्तिक महिनामा आरटीजीएसमार्फत २२ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकामा मंसिरमा बढेर २५ खर्ब ९३ अर्ब रुपैयाँ बराबर पुगेको हो । यस अवधिमा आरटीजीएस प्रणालीमार्फत भुक्तानी हुने संख्यामा पनि १५ हजार ७ सय २६ पटकले बढेको छ । यस्तो संख्या कार्तिकमा ४६ हजार ८ सय रहेकोमा मंसिरमा बढेर ६२ हजार ५ सय पुगेको हो ।

यस्तै विद्युतीय भुक्तानीमा अर्काे ठुलो योगदान दिन माध्यम विद्युतीय चेक क्लियरिङ (इसीसी) हो । यसमार्फत भएको भुक्तानी कार्तिकको तुलनामा मंसिरमा १ खर्ब २२ अर्ब रुपैयाँले बढेको छ । कार्तिकमा इसीसीमार्फत ३ खर्ब ३५ अर्ब ५२ करोड रुपैयाँ बराबरको भुक्तानी भएकामा मंसिरमा आउँदा ४ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । कार्तिकको तुलनामा मंसिरमा इसीसीमार्फत भएको भुक्तानीको संख्या पनि २ लाख ३९ हजार पटकले बढेको छ ।

विद्युतीय भुक्तानीका यी दुई माध्यमसँगै मंसिरमा मोबाईल बैंकिङमार्फत हुने भुक्तानी पनि ४५ अर्ब धेरैले बढेको छ । यो माध्यमबाट मंसिरमा मात्रै २ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । मंसिरमा मात्रै मोबाईल बैंकिङबाट भएको भुक्तानी संख्या भने ३ करोड १३ लाख पुगेको छ ।

विद्युतीय भुक्तानीका माध्यमहरुमा यी ३ बाहेक आइपीएस, कनेक्ट आइपीएस, वालेट, क्युआर भुक्तानी, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, ब्रान्चलेस बैंकिङलगायतका माध्यमबाट हुने भुक्तानी मंसिरमा उकालो लागेको छ ।

तर, यसै अवधिमा एटिएममार्फत झिकिने पैसा भने घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । मंसिर महिनामा एटिएममार्फत जम्मा ८० अर्ब १० करोड रुपैयाँ झिकिएको छ । यो गएको कार्तिकको तुलनामा १२ अर्ब ३० करोड रुपैयाँले कम हो ।
यस्तै यो अवधिमा एटिएमबाट पैसा झिक्ने संख्या पनि ७ लाख ३२ हजार पटकले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
एटिएमसँगै मंसिरमा कार्तिकको तुलनामा प्रिपेड कार्ड, डेबिट कार्ड, इकमर्श र पसमार्फत हुने भुक्तानी पनि घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL