Logo

बुढीगण्डकी आयोजना निर्माण र गोरखकाली रबर उद्योग तत्काल शुरु गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

बुढीगण्डकी आयोजना निर्माण र गोरखकाली रबर उद्योग तत्काल शुरु गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासका लागि बुढीगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनुपर्ने बताएका छन्।

laxmi

गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले जिल्लाको आर्थिक समृद्धि र विकासमा रणनैतिक भूमिका रहेका दुई ठुला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्नुपर्ने बताएका हुन्।

‘नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग संचालन गर्न मैले पनि पहल गर्नेछु। यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ,’ उनले भने, ‘यसका साथै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्न आग्रह गर्न चाहन्छु।’

उनले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरुसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलालगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताए।

कोरोना भाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको बताउँदै उनले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पूर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

‘अहिले मुलुकको प्रधानमन्त्री यही जिल्लाकै हुनुहुन्छ। महत्वपूर्ण र धेरै विकास बजेट भएको मन्त्रालयमा पनि यही जिल्लाकै उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्छ। तपाई हामी सबै पहल गरौं। नेपाल एकीकरणको सुरु गोरखा जिल्लाबाट भएजस्तै अब मुलुकको आर्थिक समृद्धि र विकासको अभियान पनि यहीबाट सुरु गरौं,’ उनले भने।

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा विभिन्न समस्याहरु देखिएको बताउँदै उनले व्यवसायीहरुलाई संयमित भएर व्यवसाय गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
MBL