Logo

पोष्ट कोभिड इफेक्ट : शतप्रतिशत बढ्यो बैंकको खराब कर्जा, यस्ता छन् अन्य कारण

पोष्ट कोभिड इफेक्ट : शतप्रतिशत बढ्यो बैंकको खराब कर्जा, यस्ता छन् अन्य कारण



काठमाडौं । कोरोना पछि उद्योग व्यवसायमा आएको मन्दीका कारण बैंकहरुको खराब कर्जा उच्च रुपमा बढेको छ । वाणिज्य बैंकहरुले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पछिल्लो एक वर्षमा खराब कर्जा शतप्रतिशत बढ्न पुगेको हो ।

गत आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमासिकको वित्तीय विवरणसँग तुलता गर्दा चालू आर्थिक वर्षको सोही अबधिमा आईपुग्दा वाणिज्य बैंकहरुको खराब कर्जा ९६.९५ प्रतिशतले बढेको छ । तर उक्त तथ्यांकमा हालसम्म वित्तीय विवरण सार्वजनिक नगरेका कुमारी र इन्भेष्टमेन्ट मेगा बैंकको समावेश गरिएको छैन । यसैगरी चालू आर्थिक बर्षको पहिलो त्रैमाससँग दोस्रो त्रैमासको तुलना गर्ने हो भने पनि वाणिज्य बैंकहरुको खराब कर्जा २४.२६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर अहिले आएर देखिन थालेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् । ‘कोरोनाको समयमा सबैले उद्योग व्यवसाय बन्द नै गरेर बसेका थिए भने नेपाल सरकार र राष्ट्र बैंकले सहजिकरण गरिदिँदा केही राहत भएको थियो,’ एक उद्योगीले भने, ‘जब कोरोना महामारीपछि उद्योग व्यवसाय चल्न थाल्यो त्यसपछि विश्वव्यापी रुपमा असर पर्दा कच्चा पर्दाथको मूल्य उच्च रुपमा बढ्न पुग्यो भने कतिपय उद्योग व्यवसाय बन्द नै हुन पुगे भने कतिपय आंशिक क्षमतामा मात्र चलिरहेका छन् ।’ जसका कारण उद्योगी व्यवसायीले बैंकबाट लिएको कर्जा तिर्न नसक्दा अहिले डिफल्डरको संख्या ह्वात्तै बढेको छ । नेपालका उद्योगमा प्रयोग हुने कच्चा पदार्थदेखि अन्य बस्तु आयातमा निर्भर रहेको र रुस–युक्रेन युद्धका कारण सामानको मुल्य बढ्न जाँदा समेत असर देखिएको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् ।

प्रतिशतको आधारमा हेर्ने हो भने सो अबधिमा सिद्धार्थ बैंकको खराबकर्जा सबैभन्दा बढीले बढेको छ । गत आबको दोस्रो त्रैमासमा ०.३७ प्रतिशत रहेको खराब कर्जा चालू आबको सोही अबधिका आईपुग्दा ६७६ प्रतिशतले बढेर २.८७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार खराब कर्जा कुल कर्जा प्रबाहको ५ प्रतिशतभन्दा तल रहनुपर्छ । तर त्यससँग तुलना गर्ने हो भने सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंकको ४.५२ प्रतिशत रहेको छ । यस्तै हिमालयन बैंकको पनि खराब कर्जा बढेर ३.७७ प्रतिशत पुगेको छ भने सनराईज बैंकको ३.३६ प्रतिशत पुगेको छ । नबिल बैंकको २.९८, ग्लोबल आईएमई बैंकको २.९२ प्राईम कर्सियल बैंकको २.८१, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको २.७९ प्रतिशत पुगेको छ । यस्तै अन्य बैंकहरुको पनि खराब कर्जा ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय कर्जाको ब्याजदर उच्च रुपमा बढेसँगै उद्योगी व्यवसायी र बैंकबीचको टकरावले गर्दा पनि कर्जा असुलीमा समस्या भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘कतिपय उद्योगी व्यवसायीहरु हामी पुसमा बढेको ब्याज र किस्ता तिर्दैनौं भन्दै अन्दोलनमा उत्रिएका थिए,’ सम्बद्ध सरोकारवालाहरु बताउँछन्, ‘जसका कारण कतिपयले आफसँग पैसा हुँदाहुँदै पनि उच्च ब्याजको कारणले गर्दा नतिरेको बुझिन आएको छ ।’

यस्तै राष्ट्र बैंकले चालू पुँजी कर्जामा कडाई गरेकाले पनि ऋणीहरुले थप कर्जा लिएर किस्ता र ब्याज तिर्न नसकेको एक उद्योगीले बताए । ‘यसअघि चालू पुँजी कर्जा लिएरै भएपनि उद्योगी व्यवसायीले त्रैमासिक रुपमा ब्याज बुझाउँदै आएका थिए,’ ती उद्योगीले भने, ‘तर अहिले उद्योग व्यवसाय नचल्दा आम्दानी छैन भने चालू पूँजी कर्जा सुविधाबाट पनि बञ्चित हुँदा थप समस्यामा परेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL