Logo

रेमिट कम्पनीको पुँजी वृद्धि गराउनु ‘कार्टेलिङ’ को प्रयास हो

रेमिट कम्पनीको पुँजी वृद्धि गराउनु ‘कार्टेलिङ’ को प्रयास हो


रामराजा श्रेष्ठ
27
Shares

खुला बजार नीतिमा नयाँ व्यवसायीलाई पनि सहज रुपमा प्रवेश गर्ने वातावरण सिर्जना गरिनु पर्छ । अहिले पनि धेरै कम मात्रामा काम गर्ने रेमिट कम्पनीहरु छन् । यदि अहिले नै पूँजी बृद्धि गर्ने हो भने त्यस्ता कम्पनीले त्यसै अनुसार पुँजी थप गर्न सक्दैनन ।

अहिले नै रेमिट्यान्सको फ्लो कम हुँदैन तर दिर्घकालिन रुपमा यसको असर पर्ने छ । नेपालमा पीआर लिएर विकसित मुलुकमा गएका व्यक्तिले रेमिट्यान्स पठाउँदैनन् खाडी र मलेशियाको रोजगारीमा गएका कामदारले नै पठाउने हुन् । तसर्थ नेपाली रेमिट कम्पनी पनि त्यतै आकर्षित भएका छन् । रेमिट व्यवसायमा देखिएको समस्या, संघको कार्ययोजनालगायतका विषयमा केन्द्रित रहेर नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष राजगोपाल राजभण्डारीसँग गरिएको कुराकानीको सार :

laxmi

विभिन्न कारणले विदेश जानेको सङ्ख्या पछिल्लो समय घटेको देखिन्छ । यहिं प्रक्रियासँग जोडिने रेमिट्यान्स व्यवसायको अवस्था चाहिं अहिले कस्तो छ ?

बैशाखको भुकम्प पछि दशैंसम्म नेपालमा रेमिट्यान्सको ‘फ्लो’ निकै बढेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा देखिएका विभिन्न अवरोधले यो क्षेत्रमा केहि असर परेको छ । नेपाल भित्रने रेमिट्यान्स भनेको वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रकम नै हो । जब यो क्रम नै घट्दै जान थालेको छ भने त रेमिट्यान्समा असर पर्नु स्वभाविक नै हो । तर, तत्काल नै यसको असर देखिने गरी बाहिर आउँदैन । केहि समय लाग्छ ।

तर, कानुनी रुपमा भित्रने रेमिट्यान्स भन्दा पनि गैर कानुनी रुपमा हुण्डीमार्फत नेपाल भित्रने रकमको आकार पनि ठूलै छ भनिन्छ । यसले रेमिट्यान्सको ‘फ्लो’ त कायमै राख्ला नि ?

नेपालमा रेमिट्यान्स कम्पनी नखुल्दै विदेशबाट पैसा आउने क्रम त त्यतीबेला पनि जारी नै थियो । गैरकानुनी च्यानलबाट रकम आएको यथार्थता त थियो नि । पछि एक दुईवटा रेमिट कम्पनीले कानुनी रुपमै विपे्रषण व्यवसाय सुरु गरे । त्यसपछि त हो, अरु नयाँ कम्पनी यो क्षेत्रमा प्रवेश गरेको । गैरकानुनी रुपमा भित्रने ठूलो रकम त्यसयता कानुनी रुपमा बैङ्किङ प्रणालीमा आयो । यसको मतलब अहिले पनि विदेशबाट आउने सबै रकम कानुनी रुपमै आएको छ भन्ने होइन, तर त्यस्तो काम निकै घटेको चाहीं पक्कै हो । यसलाई ठप्प भयो भन्न मिल्दैन ।

उदाहरणका लागि नेपालमा चार सय रुपैयाँ पर्ने सामान भन्सारबाट ४० रुपैयाँको विल बनाएर छुटेका छन् । त्यसरी सामान खरिद गर्न त हुण्डीलगायत दोस्रो बजारबाटै पैसा भित्रने तथा बाहिरीने गरिरहेको छ । अहिले पनि झण्डै ४५ प्रतिशत रेमिट्यान्स हुण्डीमार्फत आईरहेको छ । त्यस्ता गिरोह अझै सक्रिय नै छन् ।

rajgopal-remittance

अझै पनि एक दर्जन रेमिट कम्पनी कारोबार नगरी निस्क्रिय रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । कतै दोस्रो बजारमा उनीहरुकै संलग्नता त छैन ?

पक्कै पनि कतिपय रेमिट कम्पनी कामै नगरी बसेका छन् । भविष्यमा काम पाइएला भनेर नविकरण गर्ने काम मात्र उनीहरुले गरिरहेका छन् । संघको चासो कसले के गरेको छ भन्ने तर्फ होइन । हामी त संस्थागत हितमा जोड दिन्छौं । यदि गलत काम भएको छ भने राष्ट्र बैंकले अनुगमन गर्नुपर्छ । तर, त्यो अहिलेसम्म हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले रेमिट कम्पनीको पूँजी बृद्धिको गृहकार्य गरिरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

बजारमा काम गरेर सफल भएका रेमिट कम्पनीलाई प्रश्रय दिन पूँजी बृद्धि गर्न लागेको जस्तो देखिन्छ । पूँजी बृद्धि गर्दा नयाँ व्यवसायीहरु प्रवेश गर्न सक्दैनन् । जसले गर्दा बजारमा स्थापित भएका व्यवसायीहरुले मात्र यस क्षेत्रमा प्रभुत्व जमाउने खतरा रहन्छ । खुला बजार नीतिमा नयाँ व्यवसायीलाई पनि सहज रुपमा प्रवेश गर्ने वातावरण सिर्जना गरिनु पर्छ । अहिले पनि धेरै कम मात्रामा काम गर्ने रेमिट कम्पनीहरु छन् । यदि अहिले नै पूँजी बृद्धि गर्ने हो भने त्यस्ता कम्पनीले त्यसै अनुसार पुँजी थप गर्न सक्दैनन । उनीहरु बन्द गर्नुे अवस्थामा पुग्छन् । रेमिट कम्पनीको पुँजी वृद्धि गराउनु  ‘काट्रेलिङ’ को प्रयास जस्तै हो ।

तपाईहरु आफै पनि मलेशिया तथा खाडी मुलुकमा मात्र हुनुहुन्छ । यहाँ भन्दा बाहिर सेवा दिन किन नसकेको ?

विकसित मुलुकमा नेपाली कामदार नै गएका छैनन् त्यस्ता देशमा रेमिट कम्पनीको के काम ? अष्ट्रेलिया, अमेरिका, बेलायतजस्ता मुलुकमा गएका व्यक्तिले नेपालमा पैसा नै पठाउँदैन । पीआर लिएर गएका व्यक्तिले पैसा पठाउनुको सट्टा नेपालबाट लिएर जान्छन् । उनीहरुले दशै तिहारजस्ता चाडपर्वमा आफन्तलाई सामान्य रकम मात्र पठाउने हुन् । तर, रोजगारीमा जाने कामदारले कमाएको पैसा नेपालमै पठाउने हो । तसर्थ नेपाली रेमिट कम्पनीको ध्यान पनि त्यतै केन्द्रित भएको हो ।

हुण्डीमार्फत आइरहेको रेमिट्यान्सलाई बैंकिङ प्रणालीमार्फत भित्र्याउन संघको पहल के छ ?

संघ एक्कैले गरेर केही हुँदैन । त्यसमा राज्यको संलग्नता चाहिन्छ । बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स पठाउने व्यक्तिका लागि राज्यले ‘स्किम’ ल्याउनु पर्छ । संघलाई विभिन्न रेमिट कम्पनीले सामान्य शुल्क तिरेर चलाएका छन् यसको कुनै बजेट छैन । कि प्रचारप्रसारको लागि सरकारले संघलाई बजेट दिनु पर्यो अन्यथा सरकारले आफैले जानकारी मुलक कार्यक्रम ल्याउनु पर्छ । नेपाली कामदार गएका मुलुकमा नेपाल सरकारले राजदूत, लेवर एटेजी, महावाणिज्य दूत नियुक्त गरेको छ । उनीहरुको काम के ? बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउन उनीहरुलाई सक्रिय बनाउनुपर्छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्षित गरी ‘वैदेशिक रोजगार बचतपत्र’ ल्याएको छ तर, कामदारले यसमा उत्साहजन उपस्थिती देखाएका छैनन । यसमा रेमिट कम्पनीले सहयोग गर्न सक्दैनन् ?

नेपालीहरु विदेशमा काम गर्न जान्छन् नेपालमा बचतपत्र ल्याएर कुनै अर्थ राख्दैन । सम्बन्धित देशमा गएर सो वारेमा जानकारी गराउनु पर्छ । नेपालबाट गएका कुटनीतिक नियोगहरुले सम्बन्धित देशमा जनचेतना फैलाउनु जरुरी छ । रोजगारीमा गएका नेपालीहरुले विभिन्न खालका कार्यक्रमहरु गरिरहेका हुन्छन् । त्यस्ता ठाउँमा गएर प्रंचारप्रसार गुर्नपर्छ । बचतपत्रको महत्वको वारेमा बुझाउनु पर्छ । अनि मात्र खरिद गर्छन । रेमिट कम्पनीले त कामदारले कमाएको पैसा नेपाल भित्र्याएर उनीहरुको परिवार समक्ष पुर्याइदिने काम गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्
MBL