Logo

नेपालमा बैंकहरु आवश्यकभन्दा बढी भएको ठहर, वाणिज्य बैंकको संख्या ११ देखि १५ मा झार्न अध्ययनको सुझाव

नेपालमा बैंकहरु आवश्यकभन्दा बढी भएको ठहर, वाणिज्य बैंकको संख्या ११ देखि १५ मा झार्न अध्ययनको सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले नेपालमा बैंक तथा वित्तीय संस्थाहरु धेरै भएको निष्कर्श निकालेको छ । राष्ट्र बैंकले ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको आवश्यक संख्या’ शिर्षकमा गरेको अध्ययनमा यस्तो देखिएको हो ।

laxmi

उक्त अध्ययन अनुसार नेपालको समान अर्थतन्त्र भएका धेरै देशहरुको तुलनामा नेपालमा वाणिज्य बैंकहरुको संख्या अत्याधिक बढी छ । नेपालमा भएका वाणिज्य बैंकहरुको संख्या अन्य यस्तै अर्थतन्त्र, कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आय भएका देशको तुलनामा पनि उल्लेख्य छ । जुन आवश्यकताभन्दा बढी हो ।

अध्ययन अनुसार सर्भेमा सहभागीमध्ये आधा सहभागीले नेपालमा ११ देखि १५ ओटा वाणिज्य बैंकमात्रै आवश्यक रहेको बताएका छन् । यस्तै दोस्रोमा धेरै सहभागीले ५ देखि १०, १५ प्रतिशत सहभागीले १६ देखि २० र धेरै कम सहभागीले २० देखि २५ ओटा वाणिज्य बैंक नेपालमा आवश्यक रहेको बताएका थिए ।

यस्तै अध्ययनले मर्जलाई प्रोत्साहन गर्नुनै बैंक तथा वित्तीय संस्थाको संख्यामा घटाउने अस्त्र हुने देखाएको छ । अध्ययनमा सहभागीमध्ये धेरैजसो उत्तरदाताले कमजोर र बलियो बैंक तथा वित्तीय संस्थालाई एक अर्कामा गाभेर संख्या घटाउन सकिने उत्तर दिएका थिए ।

उक्त अध्ययनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको संख्या घट्दै जाँदा कर्जा र निक्षेप परिचालन, आय शक्तिमा सुधार र जोखिम व्यवस्थापन क्षमतामा पनि सुधार आएको देखाउँछ । तर, तथ्यांकमा देखाएजस्तो परिचालन क्षमतामा भने अझै सुधार हुन सकेको छैन । जसका लागि नियामक निकाय राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरु आफैले यसमा ध्यान केन्द्रितथ गर्नु आवश्यक रहेको अध्ययनले देखाएको छ ।

सन २०१२ सम्म नेपालमा बैंकको संख्या २ सय २० पुगेको थियो । नेपाल राष्ट्र बैंकको आर्थिक सुदृढिकरणको नीतिसँगै हाल नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्यामा ह्रास आईरहेको छ । तर, पनि नेपालमा अझै वाणिज्य बैंकहरुको संख्या आवश्यकभन्दा बढी भएको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले उक्त अध्ययनको सर्भेका लागि कुल २ सय ३० जना विज्ञहरु छनौट गरेको थियो । जसमध्ये १ सय ४० जना बैंक तथा वित्तीय संस्थामा आवद्ध थिए भने ९० जना अन्य विज्ञहरु थिए । राष्ट्र बैंकका अनुसार १ सय ४० जनामा बैंक तथा वित्तीय संस्थाका सीइओ, डेपुटी सीइओ, कार्यबाहक सीइओ, संचालक, र अन्य उच्च ब्यबस्थापक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL