Logo

महिला उद्यमशिलता विकाश नभएसम्म देश आर्थिक रुपमा अघि बढ्न सक्दैन

महिला उद्यमशिलता विकाश नभएसम्म देश आर्थिक रुपमा अघि बढ्न सक्दैन


रामराजा श्रेष्ठ
0
Shares

हाम्रो समाज पुरुषमा लगानी गर्दा सुरक्षित र महिलामा लगानीगर्दा असुरक्षित हुन्छ भन्ने सोचबाट ग्रसित छ ।

अव सार्क क्षेत्रका महिलाहरुबीच मात्र छलफल गरेर उद्यमशिलता सम्भव छैन । विकसित देशका महिलाले उद्यमशिलताका क्षेत्रमा फड्को मारिसकेका छन् । त्यस्ता महिलाहरुको अनुभव आदनप्रदानका लागि नेपालमा सार्क रिजन, आस्यान रिजन, अफ्रिकन रिजन र अरब रिजनका महिलाहरु सहितको सम्मेलन गर्दैछौं । यस्तै, नियम बाएर मात्र हुँदैन व्यवहारमा पनि लागू गर्न सक्नुपर्छ । व्यवहारिक रुपमा हेर्ने हो भने महिलाका हक अधिकार सम्बन्धी कानुन अझै कार्यान्वयनमा आएको छैन । दक्षिण एशियाली मुलुकका महिलाका उद्यमशिलताको विकास, चुनौती र भविश्यको वारेमा केन्द्रित रहेर दक्षिण एशियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला रिजालसँग गरिएको कुराकानीको सार :

दक्षिण एसियामा महिला उद्यमशिलताको अवस्था कस्तो छ ?

त्यति राम्रो छैन । दक्षिण एसियाका महिलाहरु साना तथा मझौला उद्योगमा मात्र सिमित छ । त्यस्ता क्षेत्रमा पनि उनीहरुको प्रतिनिधित्व एकदमै कम अर्थात १० प्रतिशत मात्रै छ । ठूला उद्योगमा छैनन् नै भन्दा पनि फरक नपर्ला । यो क्षेत्रमा महिलाको संख्या कुल जनसंख्याको झण्डै ५१ प्रतिशत छ । त्यसमा यो संलग्नता भनेको ज्यादै न्युन हो ।

अन्य मुलुकको तुलनामा दक्षिण एसियाली राष्ट्रका महिलाहरु अघि बढ्न नसक्नुका कारण के–के रहेछन् ?

महिलामा धेरै चुनौती छन् । संकुचित सोचले पनि यसमा ठूलो भूमिका खेलेको छ । उद्यमशिलताको कुरा गर्दा विकसित मुलुकहरुमा महिला र पुरुषबीच भिन्नता छैन । तर, सार्क रिजनमा ठूलै भिन्नता छ । यस क्षेत्रका महिलामा पारिवारिक दायित्व बढी छ जसले गर्दा उद्योग व्यवसायमा बढी समय दिन सक्दैनन् । यस्तै, लगानीको कुरा पनि छ । यो समाज महिलाले बढी लगानी लगाएर उद्योग खोले भने त्यसलाई संचालन गर्न सक्दैनन् भन्ने सोचबाट ग्रसित छ ।

तपाई लैङ्गिक विभेदको कुरा गर्दै हुनुहुन्छ तर नेपालको संविधानले त यसलाई हटाइसकेको छ । यदि यसमै अड्किने हो भने महिला उद्यमशिलता विकास कहिले हुने ?

पहिलाको तुलनामा धेरै परिवर्तन आएको छ । तर, हाम्रो सामाजिक सोच र पारिवारिक दायरा भित्र बस्नुपर्ने भएकाले पनि सोचे अनुरुप महिलाको उद्यमशिलता विकास हुन सकेको छैन । पछिल्लो समय यस क्षेत्रका महिलाहरुमा चेतनाको विकास भएको छ । केही गर्नुपर्छ भन्ने भावना पलाएको छ आशा गरौं केही समयभित्रै महिला उद्यमशिलता विकासले गति लिने छ ।

यस संस्थाले महिला उद्यमशिलतालाई कसरी अघि बढाइरहेको छ ?

पहिला यस्ता खालका संस्थाले एउटा देशलाई मात्र कार्यक्षेत्र बनाएर काम गर्दै आएका थिए । अहिले यो संस्थाले सार्क राष्ट्र तथा त्यसभन्दा वाहिरका महिलालाई पनि एउटै फोरममा राखेर विभिन्न विषयमा छलफल गराउँदै आएको छ । नेपालको तुलनामा अन्य देशमा महिला उद्यमशिलता केही बढी भएको देखिन्छ । उनीहरुको अनुभवबाट सिक्ने र सिकाउने काम गरिरहेका छौं ।

तथ्याङ्कले पनि महिलाहरु उद्यमशिलतामा एकदमै कम छन् भन्ने देखाउँछ । त्यसमा साना तथा घरेलु उद्योगमा मात्र सिमित छन् । ठूला उद्योग संचालन गर्न केले रोक लगाएको छ ?

देशका लागि महिला उद्यमशिलता अत्वश्यक कुरा हो र यसले आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउछ भन्ने सोचको विकास भएको छैन । यस क्षेत्रका श्रीलंका र भुटानमा महिला उद्यमशिलता अघि बढिसकेको छ । त्यहाँ हरेक कुरामा महिला र पुरुषलाई समान अवसर दिइन्छ । त्यस्तै शैक्षिक विकासमा पनि अघि बढेको छ । तर, नेपाल, पाकिस्तान, अफगानिस्तानजस्ता देशमा समान खालको व्यवहार गरेको पाइँदैन ।

संविधानमै नेपालमा महिला र पुरुषका लागि समान हक दिइएको छ तर, तपाइहरु यसमै अडिकिएर बस्नु भएको छ नि ?

नियम बाएर मात्र हुँदैन व्यवहारमा पनि लागू गर्न सक्नुपर्छ । व्यवहारिक रुपमा हेर्ने हो भने अझै कार्यान्वयन भएको छैन । महिला उद्यमशिलतामा बंगलादेश तथा पाकिस्तान पनि पछि नै छ । कानुनमा जे भएपनि व्यवहारमा यी देशमा महिलालाई समान रुपमा हेरेको देखिँदैन । परम्परागत सोचमा परिवर्तन नआएसम्म सामाजिक तथा आर्थिक रुपमा परिवर्तन आउन सक्दैन । नेपालमा जलविद्युतको विकास भर्खरै हुन थालेको हो तर यस व्यवसायमा पुरुष मात्र संलग्न छन् । किन महिला आउन सकेनन् ? महिलालाई सिमित दायराभित्र राखिएको छ । हाम्रो परम्परागत सोचमा परिवर्तन नल्याएसम्म जस्तोसुनै कानुन बनाएपनि व्यवहारिक रुपमा लागू हुन सक्दैन ।

हाम्रो जस्तो विकाशिल मुलुकमा महिला उद्यमशिलताको महत्व कस्तो छ ?

अन्य विकसित देशको प्राक्टिस हेर्ने हो भने उद्यमशिलतालाई विशेष स्थान र पहिचान दिएर राखेको हुन्छ । सरकारले काम गर्ने वातावरण बनाइदिएको हुन्छ । तर नेपालमा त्यस्तो वातावरण नै छैन । पहिला महिलाले कतिसम्म काम गर्न सक्छन् भनेर पूर्वाअनुमान गरिन्थ्यो तर अहिले अवस्था त्यस्तो रहेन । देशको उच्च पदमा महिलाले नै नेतृत्व गरिरहेका छन् । तर, उद्योग क्षेत्रमा अझ नेतृत्व गर्न सकेका छैनन् । जलविद्युत, निर्माणलगायतका क्षेत्रमा महिलाको प्रबेश हुनु जरुरी छ । हाम्रो जस्तो मुलुकमा महिला उद्यमशिलतालाई अघि नबढाएसम्म देश आर्थिक र सामाजिक रुपमा विकास गर्न सक्दैन ।

विभिन्न किसिमका वाउण्ड्री भन्दा पनि महिलाहरुमा रिक्स लिन नसक्ने क्षमता नभएका कारण ठूला उद्योगमा प्रवेश नभएको जस्तो देखिन्छ नि ?

विल्कुल होइन । महिलालाई जिम्मेवारी दिइयो भने जुनसुकै काम सफल रुपमा गर्न सक्छन् । मेरै कुरा गर्दा पनि आफैले बहुराष्ट्रिय कम्पनीलाई नेपालमा भित्र्याएर काम गरिरहेको छु । तर, हाम्रो समाज पुरुषमा लगानी गर्दा सुरक्षित र महिलामा लगानीगर्दा असुरक्षित हुन्छ भन्ने सोचबाट ग्रसित छ ।

महिला उद्यमशिलता विकासका लागि तँपाइको संस्थाले के–कस्ता काम गर्दै आएको छ ?

यस संस्थाले विश्वव्यापी सम्मेलन गर्दै आएको छ । केही समय अघि मात्रै दक्षिण एसियाका साथै अन्य मुलुकका महिलाहरुको समिट गरेका थियौं । कुनै एउटा देशभन्दा पनि सार्क क्षेत्र स्तरीय परियोजना बनाइरहेका छौं । एउटा देशभित्र मात्र वसेर काम गर्दा विश्वमा के–कस्ता परिवर्तन आइरहेका छन् त्यसको वारेमा जान्ने अवसर मिल्दैन । तर, विश्वका महिला उद्यमीहरु एक ठाउँमा भेला भएर छलफल गर्दा कुनै पनि विषयको निष्कर्शमा पुग्न सकिन्छ । महिलाहरुलाई विश्वमा भइरहेको उद्यमशिलताको वारेमा जानकारी गराइरहेका छौं । सार्क क्षेत्रमा महिला उद्यमशिलताको ठूलो बजार छ तर अहिलेसम्म कार्यान्वयमा आउन सकेको छैन । यसलाई कार्यान्वयमा लैजानका लागि काम गरिरहेका छौं ।

सार्क क्षेत्रका महिलालाई उद्यमशिलतामा लगाउन अव चाहिँ के गर्दै हुनुहुन्छ ?

अव सार्क क्षेत्रका महिलाहरुबीच मात्र छलफल गरेर अघि बढ्न सकिँदैन । विश्वका विकसित देशका महिलाले उद्यमशिलताका क्षेत्रमा फड्को मारिसकेका छन् । त्यस्ता महिलाहरुको अनुभव आदनप्रदानका लागि नेपालमा सार्क रिजन, आस्यान रिजन, अफ्रिकन रिजन र अरब रिजनका महिलाहरु सहितको सम्मेलन गर्दैछौं । उनीहरुले व्यवसाय शुरु गर्दा कस्ता चुनौती आइपरे र त्यसलाई कसरी छिचोलेर यो अवस्थामा आइपुगे भन्ने विषयमा यस क्षेत्रका महिलाहरुलाई जानकारी दिने छौं । हामीमा सोचको विकास गर्नु जरुरी छ । पुरानो सोचलाई परिवर्तन गरी नयाँ सोच ल्याउनु आवश्यक छ ।

यस अन्तरवार्ता पढिरहदा सार्क क्षेत्र वा नेपालका महिला उद्यमीलाई के भन्न चाहनुहुन्छ ?

सफल महिला उद्यमीहरुको प्रेरणाबाट अघि बढ्नुपर्छ । कसैले गरेको हेरर नै सिक्ने हो । नेपालको परिपेक्षमा हेर्दा महिला उद्यमीशिलता एकदमै न्युन छ । यसलाई अघि बढाउनका लागि संस्थागत रुपमा जानु पर्छ व्यक्तिगत तरिकाबाट गएर सम्भव हुँदैन । व्यक्तिगत रुपमा बुझ्नु भन्दा संस्थागत रुपमा जानकारी लिँदा धेरै फाइदा हुन्छ । संस्थागत रुपमा जाँदा सीप विकास, लगानीका लागि स्रोत जुटाउन सहजता हुन्छ भने अवसर पनि त्यतिकै पाइन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL