Logo

सरकारले दिर्घकालिन लगानीको वातावरण बनाउनु पर्छ

सरकारले दिर्घकालिन लगानीको वातावरण बनाउनु पर्छ


रामराजा श्रेष्ठ
0
Shares

दुर्भाग्य नै भन्नुपर्छ हाम्रो प्राथमिकता पेट्रोल र ग्याँस भन्दा माथि उठ्न सकेन । अहिलेपनि नेपाली जनताको १० औं मुख्य प्राथमिकता भित्र बीमा पर्देन ।

यदि नेपालका जीवन बीमा कम्पनीलाई बलियो बनाउने हो भने सरकारले दिर्घकालीन लगानीको वातावरण बनाउनु पर्छ । अहिले बीमा कम्पनीसँग ८० अर्ब रुपैयाँभन्दा बढी लगानी योग्य पुँजी छ तर लगानी गर्ने ठाउँ छैन । यदि सरकारले दिर्घकालिन लगानीको वातावरण नवनाउने हो भने आगामी दिनमा बीमा कम्पनी धराशयी बन्ने छ । बीमा कुरा सुनेर होइन कुरा बुझेर गर्नुपर्छ भन्ने मान्यता राख्ने नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विबेक झासँग बीमाको बर्तमान अवस्था र भविश्यमा आउन सक्ने समस्यामालगायतका विषयमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार :

करिब ५ दशकको यात्रा पार गरिसकेको छ बीमा व्यवसायले । तर पहुँच हेर्ने हो भने निकै कम मात्र देखिन्छ । यस्तो किन ?

खासमा बिमाको बुझाई सहि ढङ्गबाट सम्पे्रषण हुन सकेको छैन । अझ भनौं जसका लागि  बीमा आवश्यक हो त्यहाँसम्म यसको जानकारी अझै पर्याप्त पुगेको छैन । बिमाको लागि सरकार र निजी क्षेत्रको निरन्तर प्रयास भएकै हो । तर यसले जति प्रचार पाउनुपर्ने हो त्यो नभएको हो की जस्तो लाग्छ ।

जनताले बीमा गर्नु भनेको सरकार पनि एक ढङ्गले सुरक्षित हुनु हो । बिमाबाट प्राप्त रकमको पूर्वाधार निर्माणमा गरिने लगानीले विकासलाई समेत गति दिइरहेको हुन्छ । बीमा अधिकतम सहभागि गराउन लक्ष्य पनि त्यहि अनुसार राखिनुपर्छ । बार्षिक कार्यतालिकानै बनाएर अघि बढ्न सके त्यो झन् राम्रो हुन्छ ।

त्यसो त बीमा कम्पनीहरुले आकर्षण गर्ने प्रयासमा विविधि प्रडक्ट बजारमा ल्याइरहेका छन् । त्यसमा पनि केहि एक दुई ओटा प्रडक्ट बाहेक बाँकीमा धेरैको रुचि देखिदैंन । बाँकी प्रडक्टहरु कमजोर भएर हो ?

अहिले बचत र सुरक्षा जोखिम न्युनिकरण सम्बन्धीत सवारीसाधन,वैदेशिक रोजगारी, घर, स्वास्थ्य तथा दुर्घटनाजस्ता बीमा बढी चल्तीमा आएको देखिन्छ, त्यो स्वभाविक पनि हो । यस्ता बीमा थोरै प्रिमीयम तिरेर सिमित अवधिका लागि गरिन्छ । यद्यपी बैदेशिक रोजगारी वाहेक अन्य क्षेत्रमा सुरक्षा बीमा हुन सकेको छैन ।

यस्तै, बचत बीमामा प्रिमीयम महङ्गो छ तर बिमितले निश्चित समयपछि उसले जम्मा गरेको रकम सहित बोनस समेत पाउने व्यवस्था यसमा छ । बचत बीमामा पनि विभिन्न खालका योजना छन् । जसमा बोनस दिइन्छ । तर, बीमा गर्ने व्यक्तिलाई बोनस के हो भन्ने नै थाहा छैन । यदि बोनको वारेमा यथार्थ जानकारी दिने हो भने पनि बीमा गर्नेको संख्या बढ्छ । जनचेतना फैलाउन नसक्नु मुख्य कामजोरी हो । यस्तै, क्रम बोर्डर बीमाले पनि नेपाली कम्पनीलाई समस्या पारेको छ । विदेशी बीमा कम्पनीले नेपाली कम्पनीको वारेमा गलत प्रचार गरेर व्यवसाय गरिरहेका छन् । जीवन बीमा कुरा सुनेर होइन बुझेर गर्नु पर्छ । ग्राहकलाई चाहिने बीमा योजना र त्यसबाट पाइने बोनसको वारेमा यथार्थ जानकारी दिन नसक्दा समस्या उत्पन्न भएको छ । त्यस्तै ‘अण्डर इन्स्योरेन्स’को पनि त्यस्तै समस्या छ । ९९ प्रतिशत बीमा एजेण्ट मार्फत गरिन्छ । एजेण्टले घरमा गएर बीमा गराउँदा सम्बन्धित व्यक्तिले पक्कै पनि आफ्नो स्वार्थका लागि आयो भन्ने सोच्छन् र बीमा गराउँदैनन् । त्यसैले पनि नेपालीको प्राथमिकतामा बीमा पर्न सकेको छैन ।

vivek jha

‘क्रस बोर्डर’ले  बीमा क्षेत्रमा पारेको खास समस्या के हो ?

अहिले भन्दा पनि यो समयस्या केहि बर्ष पहिले अलि बढी थियो । नेपालीले गर्ने बीमाको झण्डै ५० प्रतिशत हिस्ता विदेशी कम्पनीले लैजान्थे । यूरोप अमेरिकाका बीमा कम्नपीले नेपालीको बीमा गराएका थिए । पछिल्लो समय बीमा समिति र सम्बन्धित बीमा कम्पनीको पहलमा त्यसलाई निरुत्साहित गरेका छौं । यस्तै, पछिल्लो समय नेपाली बीमा कम्पनीको बोनस रेट पनि बढेको छ । अहिले नेपाल लाइफले नै ६५ देखि ८२ प्रतिशत बोनस दिँदै आएको छ । पहिलाको तुलनामा क्रस बोर्डर बीमाको हिस्सा घटेको छ ।

नेपालमा बीमा कम्पनीको मार्केटिङ अभिकर्ता (एजेण्ट)ले गरिरहेका छन् । यदि एजेन्टले धोका दिएमा कम्पनी समस्यामा पर्दैन ?

अहिले बीमामार्फत ८० अर्ब रुपैयाँ लगानी योग्य रकम उठेको छ । यो ल्याउने काम एजेन्टले गरेका हुन् । बीमा गराउन एजेन्टको ठूलो भुमिका छ । तर, केहि एजेण्टमा समस्या भने देखिएको छ । एजेन्टहरुबीच व्यवसाय तान्नका लागि अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । त्यसले पनि केही समस्या उत्पन्न गरेको छ ।

बीमाबाट प्राप्त लगानीयोग्य रकमको परिचालन अहिले कसरी भइरहेको छ ?

ठूला प्रोजेक्टहरु बैंकबाट ३ अथवा ५ वर्षका लागि ऋण लिएर बनाउन सकिँदैन । जसको लागि १५ वा २० वर्ष अवधिका लागि ऋण लिएर बनाउनु पर्छ, जुन कुरा बीमा क्षेत्रबाट सम्भव छ । हामीले प्रायजसो १५ वर्षको बीमा गराएका हुन्छौं । बीमा कम्पनीले त्यो पैसा लामो समयका लागि लगानी गर्न चाहन्छ भने सरकारले पनि दिर्घकालिन ऋण लिन चाहिरहेको देखिन्छ । तर, यी दुई बीचको उद्देश्य एउटै हुँदाहुँदै पनि कार्यान्वयनमा आउन सकेको छैन । यदि यो कार्यान्वयनमा जाने हो भने ठूला प्रोजेक्ट बनाउन बीमा कम्पनी नै सक्षम छन्, विदेशीसँग ऋृण माग्नु पर्दैन ।

अहिले बीमा कम्पनीको पुँजी बृद्धिको लागि गृहकार्य भइरहेको छ । यसले बीमा कम्पनीमा कस्तो प्रभाव पार्छ ?

जनताको लगानी भएको संस्थामा निश्चित दायरामा पुँजी बनाइनु पर्छ । कम्पनी प्रति जनताको विश्वास बढाउनका लागि पनि पुँजी बृद्धि आवश्यक छ । बैज्ञानिक पद्धतिबाट बीमा कम्पनीको पुँजी बृद्धि गरिनुपर्छ । जोखिम र व्यवसायको आधारमा पुँजी बृद्धि हुनुपर्छ । जसले कम्पनीलाई विश्वासिलो बनाउनुका साथै जोखिम व्यवस्थापन गर्न पनि सहयोग पुर्याउँछ । आफु लगानी नगर्ने जनताको पैसा मात्र उठाएर व्यवसाय संचालन गर्न मिल्दैन ।

भुकम्पले धेरै जनधनको क्षति पुर्यायो । त्यसपछि बीमाको निकै चर्चा पनि भयो । यस्तो विपत्तिले बीमा गर्नुपर्छ भन्ने धारणा बढेकै हो ?

भुकम्पको तथ्याङ्क हेर्दा ९ हजारभन्दा बढीको मृत्यु भएको थियो तर त्यसमध्ये साढे ३ सयले मात्र बीमा गरेका थिए । त्यतिवेला सवैमा बीमा गराउनुपर्छ भन्ने चेतना आएको थियो । तर, अहिले भुकम्प भएको १० महिना पुगेको छैन सवैले विर्सिसके । तर दुर्भाग्य,नेपाली जनताको प्राथमिकतामा बीमा परेको छैन । अहिले नेपाली जनताको प्राथमिकतामा पेट्रोल, ग्याँस, खाद्यान्न, कपडा परेको छ । अहिले प्रिमियम उठाउन नै कठिन भइरहेको छ ।

नेपालका जीबन बीमा कम्पनीलाई बलियो बनाउन के गर्नुपर्ने देखिन्छ ?

पहिलो त बीमा गर्नकै लागि जनचेतन फैलाउनु जरुरी छ ।  यसैगरी, बीमा कम्पनीको पोर्टफोलियो पनि फरक छ । अहिलो बीमा कम्पनीले बैंकलेभन्दा राम्रो प्रतिफल दिइरहेका छन् । बीमा कम्पनीलाई बलियो बनाउन दिर्घकालिन रुपमा उचित लगानीको वातावरण बनाउनु जरुरी छ । अन्य देशको प्राक्टिस हेर्नेहो भने जीवन बीमा कम्पनीको ५० प्रतिशतभन्दा बढी रकम सरकारी संयन्त्र अन्तरगत हुन्छ । बीमा वापत उठेको प्रिमियम भनेको जनताको पैसा हो यसको सुरक्षा गर्ने दायित्व सरकारको पनि हुन्छ । रिक्स फ्रि रिटर्नको व्यवस्था गरिनुपर्छ । अहिले बीमा कम्पनीको लगानी बैंकमा भएको छ । बैंक व्याजदर दिनानुदिन घट्दै गएको छ । यसरी नै चल्ने हो भने बीमा कम्पनी धराशयी हुने छ ।

इन्स्योरेन्स क्षेत्रमा नेपाल लाइफ अग्रणी स्थानमा छ । तथापी पोलिसी जारी गरेको हेर्दा तपाइहरु पनि बैदेशिक रोजगारी बीमामै केन्द्रित भएको देखिन्छ । किन अरु क्षेत्रमा जान नसकेको ?

पक्कै पनि हामीले बैदेशिक रोजागारी बीमामा बढी पोलिसी जारी गरेका छौं । यो अनिवार्य बीमा भएकाले पनि बढी पोलिसी जारी भइरहेको छ । देश भित्रको अन्य बीमामा पनि हाम्रो संख्या ठूलो छ । बचत बीमा हामीले प्रत्येक वर्ष ६० देखि ७० हजार नयाँ पोलिसी जारी गरिरहेका छौं । जति हुनुपर्ने हो त्यो गर्न सकेका छैनौं । अहिले देशमा ९ वटा जीवन बीमा कम्पनी छ । तर, पनि सोही अनुरुप मार्केटिङ गर्न सकेका छैनौं । सवै कम्पनी मिलेर बीमाको वारेमा प्रचार प्रसार गर्नु आवश्यक छ ।

भविष्यका केहि योजना छन् कि ?

नयाँ योजना ल्याउनु निरन्तर प्रक्रिया हो । हामीले केहि समय अघिमात्रै ‘जीवन उन्नती बीमा’ योजना सार्वजनिक गरेका छौं । हाल त्यस्कै बजारीकरण गरिरहेका छौं । तत्कालका लागि नयाँ योजना ल्याएर चलाउन सक्ने अवस्था छैन । अहिले पनि देशमा स्वास्थ्य तथा शिक्षा बीमा राम्रो रुपमा अघि बढ्न सकेका छैनन् । हामीले पेन्सन, स्वास्थ्य र शिक्षा बीमा ल्याउनका लागि अन्तरराष्ट्रिय स्तरमा अध्ययन गरिरहेका छौं ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL