Logo

यति एयरलाईन्सले पायो अन्तरराष्ट्रिय उडान अनुमति, पर्यटक लक्षित उडान गर्ने

यति एयरलाईन्सले पायो अन्तरराष्ट्रिय उडान अनुमति, पर्यटक लक्षित उडान गर्ने



काठमाडौं । निजी वायुसेवा कम्पनी यति एयरलाईन्सले पनि अन्तरराष्ट्रिय उडान अनुमति पाएको छ । कम्पनीले दक्षिणपूर्वी एशिया र दक्षिण एशियाली मुलुकमा ननसेडुअल र चार्टर्ड उडान भर्न सक्ने गरी अन्तरराष्ट्रिय उडान अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारबाटै अन्तरराष्ट्रिय उडान भर्न सक्नेगरी कम्पनीलाई उडान अनुमति दिएको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार डेढ बर्ष अघि नै प्राधिकरणसमक्ष अन्तरराष्ट्रिय उडानका लागि अनुमति मागेपनि कोभिडका कारण अनुमति स्विकृतीमा ढिलाई भएको थियो ।

laxmi

कम्पनीले इन्क्वाईरी आएको खण्डमा आजै अन्तरराष्ट्रिय उडान भर्न सक्नेगरी तयार भएपछि प्राधिकरणले उडान अनुमति दिएको बर्तौला बताउँछन् । ‘हामीले अन्तरराष्ट्रिय उडानका लागि आवश्यक ग्राउन्ड ह्यान्डलिङदेखि सबै कामहरु तयार पारिसकेका छौं,’ उनले भने, ‘हामीलाई इन्क्वाईरी आएको खण्डमा आजैदेखि अन्तररष्ट्रिय उडान भर्न सक्छौं ।’

कम्पनीसँग ७० सिट क्षमताका एटीआर ७२ जहाजहरु ५ ओटा छन् । उक्त जहाजमार्फत कम्पनीले भारत, म्यानमार, थाईल्याण्डलगायतका देशहरुबाट पर्यटक ल्याउनका लागि अन्तरराष्ट्रिय उडानको अनुमति मागेको थियो । पछिल्लो समय भारत तथा अन्य मुलुकका पर्यटकहरुको प्लेन चार्टर्ड मोह बढेपछि नेपाली वायुसेवा कम्पनीलाई सजिलो भएको छ ।

यति एयरलाईन्स पनि बेलाबेलामा पर्यटकले चार्टर्ड प्लेनको माग गर्ने भएपछि डेढ बर्षअघि नै कम्पनीले अन्तररष्ट्रिय उडानको अनुमति मागेको थियो । ‘हामीले म्यानमार र थाईल्याण्डका बौद्ध धर्मावलम्बी पर्यटक र दक्षिण भारतका पर्यटकलाई लक्षित गरी अन्तरराष्ट्रिय उडान अनुमति मागेका थियौं,’ कम्पनीका प्रवक्ता वर्तौलाले भने, ‘पछिल्लो समय यहाँबाट अर्डर र इन्क्वाईरी पनि आएको छ ।’ कम्पनीले अन्तरराष्ट्रिय स्तरमा सेडुअल उडान भने गर्नेछैन ।

प्रतिक्रिया दिनुहोस्
MBL