Logo

कोरोना भएकामा औषधिले काम नगर्ने सेतो ढुसी सङ्क्रमणको जोखिम, मृत्य दर ७० प्रतिशतसम्म

कोरोना भएकामा औषधिले काम नगर्ने सेतो ढुसी सङ्क्रमणको जोखिम, मृत्य दर ७० प्रतिशतसम्म



काठमाडौं । पूर्वी भारतको कोलकातामा मे महिनामा कोभिड भएका एक अधबैँसे पुरुषलाई एउटा स्थानीय अस्पतालमा सघन उपार कक्ष आईसीयूमा भर्ना गरियो। स्थिति बिग्रिन थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। कोभिडका कारण गम्भीर बिरामी परेका अरू बिरामीलाई जस्तै उनलाई पनि जीवन रक्षार्थ स्टेरोइड दिइयो।

आईसीयूमा लामो समय बसेपछि उनी कोभिडमुक्त भए। तर अस्पतालबाट घर पठाउन लागेको बेला चिकित्सकहरूले उनमा औषधिप्रतिरोधी एउटा डरलाग्दो ढुसीको सङ्क्रमण भएको पत्ता लगाए।

क्यान्डिडा अरिस नामक उक्त ढुसी अस्पतालमा भएका बिरामीमा सङ्क्रमण गराउन सक्ने सम्भावना भएको एउटा सूक्ष्मजीव हो। यो मानिसको रक्तप्रणालीमा फैलिन सक्छ।

‘यो ढुसी विश्वभरि क्रिटिकल केअर यूनिटमा प्रायः फेला पर्ने सूक्ष्मजीव हो। यसको सङ्क्रमण हुँदा मृत्युदर ७० प्रतिशत छ। ‘कोभिड–१९ को दोस्रो लहरका बेला हामीले यो सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढिरहेको पाएका छौँ,’’ मुम्बईमा कार्यरत सङ्क्रामक रोग विशेषज्ञ डा ओम् श्रीवास्तव भन्छन्- ‘आईसीयूमा धेरै बिरामी छन् अनि तीमध्ये धेरै जनालाई स्टेरोइडको उच्च मात्रा दिइएको छ। त्यो नै कारण हुनसक्छ।’

ढुसीको सङ्क्रमण किन बढेको हो ?

भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर फैलिएको बेला अस्पतालका आईसीयूहरू गम्भीर बिरामीहरूले भरिएका छन्। अनि चिकित्सकहरूले विभिन्न डरलाग्दा ढुसीका कारण हुने सङ्क्रमण पनि बढेको पाएका छन्।

केही समयअघि कालो ढुसीका कारण हुने म्यूकोर्माइकोसिस भनिने दुर्लभ खालको सङ्क्रण प्रकोप बनेर फैलिन थालेको पाइयो। यस खालको सङ्क्रमणले नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कलाई असर पुर्‍याउँछ।

भारतमा अहिलेसम्म झन्डै १२,००० जनामा यो सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये २०० जनाभन्दा बढीको मृत्यु भएको तथ्याङ्क छ।

चिकित्सकहरूका अनुसार कोभिड बिरामीमा अहिले अरू खालका ढुसीको सङ्क्रमण बढ्न थालेको छ। प्रायः आईसीयूमा एक सातादेखि १० दिन बसेका बिरामीमा त्यस्तो समस्या देखा पर्ने गरेको छ।

क्यान्डिडाका दुई प्रजाति छन्ण् क्यान्डिडा अरिस र क्यान्डिडा एल्बिक्यान्स। ती दुवै मानिसका लागि घातक बन्न सक्छन्। एस्पर्जिलस वर्गमा पर्ने ढुसीले मुखमा सङ्क्रमण गर्छ र फोक्सोमा पनि असर गर्छ। यो प्राणघातक बन्न सक्छ।

ढुसीका पाँच करोड वटाभन्दा बढी प्रकार छन्। तीमध्ये क्यान्डिडा र एस्पर्जिलस मानिसको ज्यानमा खतरा पुर्‍याउने प्रमुख ढुसी हुन्। क्यान्डिडा धेरै ठाउँमा पाइन्छ। स्नानगृहको पर्दा, कम्प्युटरको स्क्रीन, चिकित्सकले बोक्ने स्टेथस्कोप, रेलको डिम्बाको रेलिङ र अन्य ठाउँमा पनि यो हुन्छ।

चिकित्सकहरूका अनुसार क्यान्डिडा अरिसले प्रायः रगतमा सङ्क्रमण गर्छ। तर त्यसले श्वासप्रणाली, केन्द्रीय स्नायुप्रणाली, भित्री अङ्ग र छालामा पनि सङ्क्रमण गर्न सक्छ।

एस्पर्जिलस हामीवरिपरि पर्यावरणमा हुन्छ। यो तातो बनाउने वा एअर कन्डिशनिङ प्रणालीमा पनि हुन सक्छ। सामान्यतया हाम्रो रोगप्रतिरक्षा प्रणालीले त्यस्ता ढुसीका स्पोरलाई शरीरमा प्रवेश गर्न तथा रोग लगाउन दिँदैन।

तर कोभिड भएका बिरामीमा छाला, रक्तनली र श्वासनलीको सतहमा क्षति पुगेको अवस्थामा ढुसी मानिसको श्वासनलीभित्र छिर्न सक्छ। यो ढुसीले भेन्टिलेटरमा राखिएका २० देखि ३० प्रतिशत बिरामीमा सङ्क्रमण गर्ने महाराष्ट्रस्थित कस्तूरबा अस्पतालका चिकित्सक डा एसपी कालान्तरी बताउँछन्। बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्
MBL