Logo

व्यवसायी भन्छन्, एनजीओले वैदेशिक रोजगार अव्यवस्थित बनायो, ६० प्रतिशत काम एनआरएनले गर्छन

व्यवसायी भन्छन्, एनजीओले वैदेशिक रोजगार अव्यवस्थित बनायो, ६० प्रतिशत काम एनआरएनले गर्छन


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

२५ कात्तिक, काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी निकायहरुको स्वार्थका कारण वैदेशिक रोजगार व्यवसाय अव्यवस्थित बन्दै गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले बताए । ‘विभिन्न सरकारी निकायदेखि नीति निर्माण तहसम्म गैरसरकारी निकायहरुको पहुँच रहेको छ,’ संघंद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘सरकारले पनि तिनै संस्थाहरुको गलत राय सुझावका आधारमा नीति बनाउँदा व्यवसाय नै धरासयी बन्दै गएको छ ।’ साथै, सरकारले अव्यवहारिक नीति नियम बनाएकै कारण व्यवसायीहरु गैरकानुनी कामलाई अनुसरण गर्न वाध्य हुनुपरेको समेत वाग्ले जानकारी दिए ।

यस्तै, पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदीय श्रम समिति, सम्पती सुद्धिकरण विभागजस्ता सरकारी निकायले पनि व्यवसायलाई धरासयी पार्ने काम गर्दै आएको उनको भनाइ थियो । ‘पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिकजसो २÷३ सय व्यवसायीलाई बोलाएर अनावश्यक अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘यसले व्यवसायीको मनोवल गिराउने काम गरेको छ ।’ यस्तै, पछिल्लो समय संसदीय श्रम समितिले पनि वैदेशिक रोजगारीको वास्तविकतालाई नवुझी आफुखुसी निर्देशन दिँदै आएको व्यवसायीहरुको आरोप थियो ।

पछिल्लो समय वैदेशिक रोजगार व्यवसायीहरु बीचको अस्वस्थ्य प्रतिस्पर्धाले गर्दा कामदारलाई बढी आर्थिक भार परेको समेत उनको आरोप थियो । ‘केही व्यवसायीहरुले मागपत्र ल्याउनका लागि एजेन्टलाई मोलबढावढमा पैसा बुझाउँदै आएका छन्,’ उनले भने, ‘यसको प्रत्यक्ष मार रोजगारीमा जाने कामदारलाई परेको छ ।’ यसैगरी विभिन्न देशमा रहेको ६० प्रतिशतभन्दा बढी गैर आवासीय नेपालीहरुले बैदेशिक रोजगारीको काम गर्दै आएका छन् । एनआरएनकै कारण व्यवसायीहरु महङ्गोमा भिसा किन्न वाध्य हुनुपरेको वाग्लेको भनाइ थियो ।

आगामी दिनमा वैदेशिक रोजगारी सम्बन्धी ऐननियमलाई समय सापेक्ष परिमार्जन गरी हाल देखिएका समस्या समाधान गर्नुपर्ने व्यवसायीहरुको माग छ । हाल ट्रावल एजेन्सी, यएरलाइन्स, अभिमुखिकरण तालिम प्रदाय संस्था, एजेन्ट, इन्सुरेन्सजस्ता विभिन्न संस्थाले वैदेशिक रोजगार व्यवसायलाई धमिल्याउने काम गर्दै आएको व्यवसायीहरुको आरोप छ । यएरलाइन्स तथा ट्रावल एजेन्सीले हवाइ टिकटमा कालोबजारी गर्दै आएको समेत वाग्लेको आरोप थियो ।

यस्तै, विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले पनि वैदेशिक रोजगारीलाई प्रबद्र्धन गर्नुको सट्टा थप मारमा पार्ने काम गर्दै आएका छन् । ‘विभिन्न देशमा सहजीकरणका लागि स्थापना गरिएका कुटनीतिक नियोगले प्रवद्र्धनात्मक काम गर्न सकेका छैनन्,’ वाग्लेले भने, ‘उनीहरुको लापरवाहीका कारण व्यवसायीहरु विचौलियाको मारमा परेका छन् ।’

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन आगामी दिनमा सरकारले मौजुदा ऐननियमलाई तत्काल परिमार्जन गर्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सहासचिव कमल तामाङले बताए । साथै, सरकारले ऐननियम बनाउँदा वैदेशिक रोजगार व्यवसायीको साय सल्लाह लिएर मात्र बनाउनु पर्ने उनको माग थियो । ‘आगामी दिनमा विदेशी विचौलियाहरुलाई सम्बन्धित देशको सरकारसँग छलफल गरी निरुत्साहित गर्न सरकारले आवश्यक कदम चाल्नुपर्छ,’ उनले भने, ‘अन्यथा वैदेशिक रोजगारीमा जाने कामदारले थप आर्थिक भार व्यहोर्नुपर्ने अवस्था आउनेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL