Logo

छ अर्ब लगानीमा तीन टायल उद्योग खुल्दै, हजार बढीले रोजगारी पाउने

छ अर्ब लगानीमा तीन टायल उद्योग खुल्दै, हजार बढीले रोजगारी पाउने



काठमाडौं । नेपालमा ठूलो लगानीसहित तीनवटा टायल उद्योग सञ्चालनमा आउने भएका छन् । चैत महिनामा नेपालमा टायल उत्पादन गर्नेगरि ३ परियोजनामा ६ अर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार गएको चैत महिनामा मात्रै टायल उद्योग क्षेत्रमा ६ अर्ब ४ करोड ९७ लाख २४ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

laxmi

पछिल्लो समय नेपाली बजारमा टायलको माग बढ्दै गएपछि नेपालमै यसको उत्पादन गर्नका लागि उद्योगी व्यवसायीहरु अग्रसर भएको देखिन्छ । सोहीअनुसार भारतीय बजारबाट सिकेर नेपाली उद्योगी व्यवसायीहरुले पनि नेपालमै टायल उद्योग संचालन गर्न खोजिरहेका छन् । जसको उपज चैत महिनामै उद्योग विभागमा दर्ता भएका ३ टायल उद्योगलाई लिन सकिन्छ । विभागमा चैत महिनामा मात्रै ३ अर्ब २८ करोड लगानीको अरिहन्त इन्फ्रास्ट्रक्चर, १ अर्ब ८१ करोड लगानीको सेराप्रो र ९५ करोड लगानीको पशुपति सेरामिक्स कम्पनी दर्ता भएका छन् ।

यी तीनै उद्योगले नेपालका विभिन्न स्थानमा कारखाना स्थापना गरेर सेरामिक्स टायल उत्पादन गर्नेगरी विभागसामु प्रतिवद्धता जाहेर गरेका हुन् । तीन उद्योगमध्ये सबैभन्दा बढी लगानीको अरिहन्त इन्फ्रास्ट्रक्चर कम्पनीले उद्योग विभागबाट गत चैत १५ गते उद्योग स्थापनाको स्वीकृति पाएको थियो । कम्पनीले ३ अर्ब २८ करोड ७९ लाख ७६ हजार रुपैयाँ लगानीमा बार्षिक ७४ हजार बढी मेट्रिक टन नानो टायल, १२ हजार मेट्रिक टन जीभीटी टाइल, साढे १५ हजार मेट्रिक टन् वाल टाइल र ६ हजार मेट्रिक टन सरसफाईसम्बन्धी वस्तुहरु उत्पादन गर्न जानकारी दिएको छ । यस्तै कम्पनीले बार्षिक ३० हजार ८ सय ८० मेट्रिक टन जिप्सम बोर्ड, ६० हजार मेट्रिक टन जिप्सम पाउडर, ६ हजार ७ सय ५० मेट्रिक टन ग्रेनाईट र २ हजार ८ सय मेट्रिक टन क्वार्ज उत्पादन गर्नेछ ।

कम्पनीले सुनसरीको दुहवी नगरपालिकामा स्थापना गर्न लागेको उद्योगमा ५ हजार केभिए विजुली खपत हुने र बार्षिक ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । यस्तै चैत महिनामै दर्ता भएको अर्काे टायल उद्योग भने सेराप्रो नेपाल प्रालि हो । नेपालको व्यावसायिक घराना मुरारका समूहले नेपालमा सेरामिक्स काराखाना खोल्ने गरी विभागमा दर्ता गरेको उक्त उद्योगमा १ अर्ब ८१ करोड १७ लाख ४८ हजार रुपैयाँ लगानी प्रतिवद्धता जाहेर गरिएको छ ।

उद्योग विभागका अनुसार उद्योगले वार्षिक १ करोड ९५ लाख पिस फ्लोर टायल र ९५ लाख पिस वाल टायल उत्पादन गर्नेछ । उद्योगमा २ सय ३७ जनाले रोजगारी पाउनेछन । मुरारका ग्रुपले चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड सोमानीसँगको साझेदारीमा नेपालमै सेरामिक्स उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको हो । विभागले यो उद्योगलाई चैत २१ गते स्वीकृति प्रदान गरेको थियो ।

यस्तै विभागमा चैतमै दर्ता भएको अर्काे कम्पनी भने पशुपति सेरामिक्स प्रालि हो । चैत २६ गते उद्योग विभागबाट स्वीकृति पाएको उक्त कम्पनीले ८० लाख पिस वाल र भुईँ टायल बनाउनेगरी ९५ करोड रुपैयाँ लगानी प्रतिवद्धता जाहेर गरेको छ । कम्पनी भारतमा २५ वर्षदेखि सेरामिक्स उत्पादनमा ख्याति कमाएको अकुरीति एन्ड नमोको संयुक्त लगानीमा सञ्चालनमा आउन लागेको बताइएको छ । बारा जिल्लाको जितपुर सिमराको सिमरा विशेष आर्थिक क्षेत्रमा प्लान्ट स्थापना गर्न लागेको आधा स्वदेशी र आधा विदेशी लगानी ल्याउन लागेको विभागको तथ्यांकमा उल्लेख छ । कम्पनीले १ सय ७८ जनालाई प्रत्यक्ष रोजगारी दिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL