Logo

नौ दिनमा साढे दुई अर्बको लगानी स्वीकृत : चिनियाँ कम्पनीले विद्युतीय स्कुटर एसेम्बल गर्ने, जापानीज लगानीमा मिनरल वाटर उद्योग खुल्ने

नौ दिनमा साढे दुई अर्बको लगानी स्वीकृत : चिनियाँ कम्पनीले विद्युतीय स्कुटर एसेम्बल गर्ने, जापानीज लगानीमा मिनरल वाटर उद्योग खुल्ने



काठमाडौं । असार महिनाको ९ दिनमा मात्रै २ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार असार महिनाको ३ गतेदेखि १२ गतेसम्म मात्रै विभिन्न देशबाट २ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता विभागले स्वीकृत गरेको हो ।

स्वदेशी लगानीकर्ताहरुले पछिल्लो समय नेपालमा लगानीको उचित वातावरण नभएको बताईरहँदा विदेशी लगानीकर्ताहरु भने साना र मझौला उद्योगमार्फत लगानी भित्र्याइरहेका छन् । विभागका अनुसार ९ दिनमा चीन, जापान, बंगलादेश र भारत गरी ४ देशबाट उक्त लगानी प्रस्ताव आएको हो । जसमध्ये सबैभन्दा बढी चीनबाट छ । यस अवधिमा चीनबाट मात्रै २ अर्ब १ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा चीनले विभिन्न क्षेत्रका १५ परियोजनामार्फत उक्त लगानी भित्र्याई ८ सय ८१ जनालाई रोजगारी दिने प्रतिवद्धता उद्योग विभागमा जाहेर गरेको हो ।

चीनले नेपालमा दर्ता गरेका परियोजनाहरुमा होटल तथा रेष्टुरेन्ट, निर्माण उद्योग, कार्गो ह्यान्डलिङ सेवा, स्टिलका फर्निचर बनाउने र दुई पांग्रे सवारीसाधन एसेम्बल गर्नेलगायतका छन् । यस अवधिमा चीनले सबैभन्दा बढी अन्तरराष्ट्रिय कार्गो ह्यान्डलिङ परियोजनामा लगानीको प्रतिवद्धता जनाएको छ । त्यसपछि चीनले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

बार्षिक ५ हजार थान स्कुटर एसेम्बल

चीनले गत १२ गते मात्रै उद्योग विभागमा बार्षिक ५ हजार थान विद्युतीय स्कुटर र २ हजार ५ सय थान तिन पांग्रे ई–रिक्सा एसेम्बल गर्ने गरी एसेम्बल प्लान्टका लागि पनि लगानीको प्रतिवद्धता जाहेर गरेको छ । २५ करोड रुपैयाँ विदेशी लगानीमा निर्माण गरिने उक्त एसेम्बल प्लानट ललितपुरमा स्थापना हुने बताइएको छ । यसले ५ सय केभिए विद्युत खपत गरी बार्षिक १ सय १३ जनालाई रोजगारी दिने बताईएको छ । पछिल्लो समय नेपालमा सवारी एसेम्बलका लागि आवश्यक कच्चा पदार्थको भन्सार र अन्तशुल्कमा सरकारले छुट दिएपछि धेरैजसो व्यवसायिक घरानाहरुले पनि सवारी एसेम्बलमा हात हालेका छन् ।

जापानी कम्पनीको मिनरल वाटरमा लगानी

गत ६ गते उद्योग विभागमा जापानका एक लगानीकर्ताले नेपालमा मिनरल वाटर उत्पादन गरी बेच्ने भन्दै परियोजना दर्ता गराए । कुल पुँजी १० करोड रुपैयाँ रहेको उक्त परियोजनामा लगानी भने ८५ प्रतिशत जापानी लगानीकर्ताको र १५ प्रतिशत स्वदेशी लगानी हुने उल्लेख छ । जसमध्ये जापानी लगानीकर्ताले मात्रै नेपालमा ८ करोड ५० लाख रुपैयाँ भित्र्याउने प्रतिवद्धता जाहेर गरेका छन् । उक्त परियोजनामार्फत उद्योगले बार्षिक १ करोड ५० लाख बोत्तल एक लिटरको मिनरल वाटर र ८ लाख जार २० लिटरको मिनरल वाटर उत्पादन गर्ने बताएको छ । परियोजनाले ५ सय केभिए बिजुलीको खपत गर्दै ३६ जनलाई राजगारी दिने बताएको छ ।

यस्तै भारतले यसै अवधिमा सेवा क्षेत्रको एउटा उद्योगमार्फत २० करोड रुपैयाँ लगानी प्रतिवद्धता जाहेर गरेको छ । जसमार्फत ३४ जनाले रोजगारी पाउनेछन् । यता बंगलादेशले यही अवधिमा पर्यटन क्षेत्रको एउटा परियोजनामा ५ करोड रुपैयाँ लगानी गरी २८ जनालाई रोजगारी दिने प्रतिवद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL