Logo

नेपालको गार्मेन्ट उद्योगमा विदेशीको आकर्षण, अमेरिकी लगानीकर्ताले पाए स्वीकृती

नेपालको गार्मेन्ट उद्योगमा विदेशीको आकर्षण, अमेरिकी लगानीकर्ताले पाए स्वीकृती



काठमाडौं । कुनै समय विश्व बजारमा प्रमुख आकर्षण रहेको नेपाली गार्मेन्ट उद्योगमा पछिल्लो समय स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । स्वदेशी लगानीमै लार्ज स्केलका गार्मेन्ट उद्योगहरु खुलिरहेको सन्दर्भमा अमेरिकी लगानीकर्ताले नेपालमा तयारी पोशाक उद्योगमा लगानीको इच्छा प्रकट गरेका छन् । उद्योग विभागका अनुसार हालै नेपालमा तयारी पोशाक उत्पादन गर्नेगरी एक अमेरिकी कम्पनीले विभागबाट स्वीकृती लिएको छ । नेपालमा गार्मेन्ट उद्योग संचालन गर्ने गरि दर्ता भएको उद्योगले ५ करोड रुपैयाँको लगानी प्रतिवद्धता जाहेर गरेको विभागले जानकारी दिएको छ । यो निकै सानो लगानी भएपनि विदेशीको आकर्षण बढनुले भविष्यमा नेपाली गार्मेन्ट उद्योगको भविष्य उज्जवल रहेको देखिएको एक व्यवसायीले बताए ।

laxmi

नेपालमा पछिल्लो समय गार्मेन्ट उद्योगहरु दर्ता हुने क्रम बढेसँगै विदेशी कम्पनी पनि आउने क्रम सुरु भएको हो । नेपालका गार्मेन्ट उद्योगहरुले विद्यालयका पोशाक, सरकारी कर्मचारीका पोशाक तथा अन्य तयारुी पोशाकहरु उत्पादन गर्दै आइरहेका छन् । यसैबीच अमेरिकी एक कम्पनीले पनि नेपालमा ५ करोड रुपैयाँको लगानी गरी गार्मेन्ट उद्योग खोल्ने ईच्छा देखाएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार कम्पनीले ललितपुरमा आफ्नो उद्योग खोल्ने र ३१ जनालाई रोजगारी दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

कम्पनीले बार्षिक १५ हजार थान शर्ट, १० हजार थान ट्राउजर, २० हजार थान ट्रयाकशुट, २० हजार थाप ज्याकेट, १० हजार थान वेस्टकोट, ५ हजार थान स्कर्ट, ५ हजार थान जम्पशुट र ३ हजार थान अन्य तयारी पोशाक उत्पादन गर्नेछ । कम्पनीले उद्योग विभागबाट एक व्यक्तिको नाममा स्वीकृती लगेको विभागका वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक सुरेश श्रेष्ठले बताए । उनका अनुसार कुनैपनि फर्म वा व्यक्तिले पहिले विभागबाट लगानीको स्वीकृती लिएर कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी दर्ता गर्छ । त्यसपछि मात्रै उद्योग दर्ताको प्रक्रिया सुरु हुन्छ । नेपालमा आउने वैदेशिक लगानीका कुनैपनि कम्पनी वा फर्म वा व्यक्तिले सबैभन्दा पहिले विभागबाट स्वीकृती लिनुपर्ने हुन्छ ।

चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा नेपालमा ३१ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । जसमध्ये अमेरिकाबाट मात्रै ३ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आई स्वीकृत भएको छ । अमेरिकाले पछिल्लो ८ महिनामा विभिन्न ८ ओटा परियोजनामार्फत ४ सय ५८ जनालाई रोजगारी दिनेगरी उक्त लगानी स्विकृत गराएको हो । चालु आवको हालसम्म आएको वैदेशिक लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढि चीनको छ । यस अवधिमा चीनले २४ अर्ब बढिको लगानी प्रतिवद्धता व्यक्त गरेको छ ।

पछिल्लो ८ महिनामा अमेरिकाबाट आएको लगानी क्षेत्र हेर्दा ३ ओटा होटल, २ ओटा सफ्टवेयर कम्पनी, एउटा रेडीमेड गार्मेन्ट, एउटा पूर्वाधार क्षेत्रमा सहलगानीका लागि र एउटा सेवा क्षेत्रका परियोजनामा लगानी भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL