Logo

न्यू बुटवल र पूर्वी चितवन सबस्टेसनको निर्माण अन्तिम चरणमा, समयमै सम्पन्न गर्न कुलमानको निर्देशन

न्यू बुटवल र पूर्वी चितवन सबस्टेसनको निर्माण अन्तिम चरणमा, समयमै सम्पन्न गर्न कुलमानको निर्देशन



काठमाडौं । नवलपरासीको सुनवलमा २२०÷१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

दुवै सबस्टेसनको निर्माण आगामी चैत्र भित्र सम्पन्न गरी संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

आयोजनाको स्थलगत निरीक्षणमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएकाले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सकिने जानकारी दिए ।

आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग निर्माण प्रगति, बेहोरिएका समस्या लगायतका बारेमा जानकारी लिंदै कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा काम सक्न निर्देशन दिए ।

‘सबस्टेसनको जग (फाउन्डेसन) हालिएको छ, अधिकांश उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने केही आउनेक्रममा छन्, अब उपकरणहरु जडानको काम मात्रै बाँकी देखिन्छ, बाँकी रहेको सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तिब्रता दिनुहोस्’,उनले निर्देशन दिंदै भने, ‘निर्माण तेकिएकै समयमा सम्पन्न गर्न देखिएका समस्या समाधान गर्न प्राधिकरणले गर्नुे पर्ने काम र सहजीकरण तदारुकताकासाथ गरिदिने छौं ।’

मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो ।

भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैतभित्रमा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणमा अहिले एक सय जनाभन्दा बढी श्रमिक आयोजनास्थलमा खटिएका छन् ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुनेछ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत् हब बन्ने छ ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फ दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ ।

बर्दबाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ ।

चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरिय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । ‘भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३÷११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ , लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने,ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो’, कार्यकारी निर्देशक घिसिङले भने । ‘सबस्टेसन संचालनमा आएपछि प्राविधिक चुहावट करिब ४÷५ प्रतिशत घट्ने छ, ग्राहकले पनि गुणस्तरिय, भरपर्दो र पर्याप्त विद्युत् पाउनु हुने छ भने प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य हुने छ ।’

मकवानपुरको हेटौडाबाट भरतपुर तर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमा ट्यापिङ गरी त्यस क्षेत्रमा आपूर्ति गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL