काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सकिएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ ।
विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए ।
विसं २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माण कार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ । आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्र्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।
सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सवस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । झण्डै छ अर्ब लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट सुरुको वर्षमा वार्षिक रू ८७ करोड आम्दानी गर्नेछ । आयोजनामा एनएमबि बैङ्कको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कको ऋण लगानी रहको छ ।
आयोजनाका लागि बैङ्ककातर्फबाट तत्कालिन अवस्थामा अनुमानीत कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानीकर्ताको स्वपूजी लगानी रहेको छ । कम्पनीले आज यहाँ एक उद्घाटन समारोहको आयोजना गरेको थियो । कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायतले ऊर्जा उत्पादनमा भिजन लुम्बिनीले स्थापना गरेको मानक उदाहरणीय रहेको बताए ।