Logo

काबेली-२ सहित उर्जासम्बन्धी ४ नयाँ परियोजना स्वीकृत : साढे ५ अर्ब लगानी, ३२ मेगावाट विजुली

काबेली-२ सहित उर्जासम्बन्धी ४ नयाँ परियोजना स्वीकृत : साढे ५ अर्ब लगानी, ३२ मेगावाट विजुली



काठमाडौं । उद्योग विभागमा एकैदिन उर्जासम्बन्धी ४ नयाँ परियोजना स्वीकृत भएका छन् । विभागले दिएको जानकारी अनुसार गत फागुन ३० गते अर्थात फागुन महिनाको अन्तिम दिन ५ अर्ब ५८ करोड बढी लगानीका ४ परियोजना स्वीकृत भएका हुन् ।

laxmi

यी परियोजानमा ५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ लगानी हुनेछन् भने ७२ जनाले रोजगारी पाउनेछन् स्वदेशी लगानीमै निर्माण हुने यी परियोजनाले करिव ४८० केभीए विजुली खपत पनि गर्नेछन् । विभागका अनुसार सोही दिन विभागबाट स्विकृत पाएका ४ ओटै परियोजनामध्ये सबैभन्दा ठूलो र धेरै लगानीको परियोजना भने माथिल्लो काबेली २ जलविद्युत आयोजना हो ।

उक्त आयोजना अरुण भ्याली हाईड्रोपावर विकास कम्पनीले निर्माण गर्न लागेको छ । ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ कुल लगानी राखिएको उक्त परियोजनामार्फत १५ मेगावाट विजुली उत्पादन हुने बताईएको छ । ताप्लेजुङ जिल्लाको पाथीभरा याङबरक गाउँपालिका वडा नं. ६ मा निर्माण हुने आयोजनाको सबै लगानी स्थानीय अर्थात स्वदेशी नै हुने बताइएको छ । अरुण भ्याली जलविद्युत कम्पनीले उक्त परियोजना निर्माण गर्ने घोषणा २ बर्ष अघि नै गरिसकेको थियो ।

यस्तै फागुन ३० गते नै दर्ता भएको अर्काे ठुलो परियोजना भने सोलारमा आधारित उर्जासम्बन्धीे छ । उद्योग विभागले जानकारी दिए अनुसार फागुन ३० गते विभागबाट स्विकृत भएको परियोजनाले सोलार प्रविधिबाट १० मेगावाट विजुली उत्पादन गर्ने प्रविद्धता जाहेर गरेको छ । ९५ लाख ८५ हजार रुपैयाँ स्वदेशी लगानीमा निर्माण हुने परियोजनाको प्रमोटर पोजेटिभ ईनर्जी प्रालिले गत बैशाख २३ मै उर्जा विकास विभागबाट अनुमति पाईसकेको छ । कपिलवस्तुको विजयनगर गाउँपालीकामा निर्माण हुने परियोजनाले १० जनालाई रोजगारी दिने प्रतिवद्धता जाहेर गरेको छ ।

यस्तै अन्य २ परियोजनामा भने क्रमशः ४.६ ३.३ मेगावाट क्षमताका २ ओटा जलविद्युत परियोजना रहेका छन् । पहिलो परियोजना बुढीगण्डकी जलविद्युत प्रालिले विभागमा निर्माणका लागि प्रतिवद्धता जाहेर गरेको छ । यस्तै दोस्रो जलविद्युत कम्पनी स्यार्पु पावर कम्पनीले पनि परियोजना स्विकृतिका लागि विभागमा प्रतिवद्धता जाहेर गरेको थियो ।

यसमध्ये बुढीगण्डकी जलविद्युत कम्पनीले गोर्खा जिल्लाको धार्चे गाउँपालीका वडा ४ मा ४.६ मेगावाट क्षमताको जलविद्युत गृह संचालनमा ल्याउने छ । कुल ९३ करोड ९१ लाख ५७ हजार रुपैयाँको स्थानीय तथा स्वदेशी लगानीमा निर्माण हुने उक्त विद्युतगृहमा २३ जनाले रोजगारी पाउनेछन् ।

यस्तै दोस्रो कम्पनी स्यार्पु पावर कम्पनीले भने रुकुम जिल्लाको बाफीकोट गाउँपालीकामा ३.३ मेगागाट क्षमताको जलविद्युत गृह निर्माण गर्ने भएको छ । बाफीकोट गाउँपालीका वडा नं ३ मा निर्माण हुने विद्युत गृह निर्माणका लागि ५६ करोड १० लाख ४२ हजार रुपैयाँ कुल लगानी लाग्ने बताईएको छ । यो परियोजनामा २७ जनाले रोजगारी पाउनेछन् ।

विभागबाट स्विकृत भएका यी परियोजनाले पहिले विद्युत विकास विभागबाट विद्युत उत्पादनका लागि अनुमति पाइसकेका छन् । विभागका अनुसार नेपालमा चालु आर्थिक बर्षको ८ महिनामा उर्जासम्बन्धी ३० परियोजना स्वीकृत भएका छन् । यी परियोजनाले १ खर्ब १९ अर्ब ६९ करोड रुपैयाँको लगानी प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL