Logo

एउटा समाचारले चेम्बरमा ल्याएको तरङ्ग, दुईमध्ये एक उपाध्यक्षलाई चेम्बर छाड्न दबाब

एउटा समाचारले चेम्बरमा ल्याएको तरङ्ग, दुईमध्ये एक उपाध्यक्षलाई चेम्बर छाड्न दबाब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको सबैभन्दा पुरानो व्यावसायीक छाता संगठन नेपाल चेम्बर अफ कमर्समा उपाध्यक्षद्वय दिपक मल्होत्रा र नरेश श्रेष्ठबीचको विवादलाई लिएर समस्या उत्पन्न भएको छ । दुुई उपाध्यक्षहरुको विवाद प्रेस काउन्सिलमा पुगेसँगै चेम्बरभित्र पनि यसले थप विवाद ल्याएको हो ।

laxmi

चेम्बर उपाध्यक्ष मल्होत्राले आफ्नो मानहानी गर्ने उद्देश्यसहित श्रेष्ठले सञ्चालन गरिरहेको मिडियामार्फत बदनाम गर्ने प्रयास गरेको, झुटा समाचार प्रकाशित गरेको भन्दै गत हप्ता काउन्सिलमा उजुरी दिँदै हदैसम्मको कारबाहीको माग गरेका थिए । उक्त विवादपछि प्रेस काउन्सिलले समाचार प्रकाशन भएको उक्त मिडियाका सम्पादकलाई सम्बोधन गरेर सो सम्बन्धमा पत्र काटेको छ ।

काउन्सिलको चिठ्ठी पछि दुई उपाध्यक्षमध्ये एक गलत भएको भन्दै चेम्बरभित्र छलफल सुरु भएको छ । यही विषयलाई लिएर यसै हप्ता चेम्बर सदस्यहरुबीच छलफल समेत भएको थियो । उक्त छलफलमा सो समाचारले चेम्बरको गरिमामा समेत आँच आएकाले दुई उपाध्यक्ष मध्ये जो दोषी देखिन्छ, उसले पदबाटै राजिनामा दिनुपर्ने विषय उठान भएको थियो । उक्त छलफलमा सहभागी धेरैले चेम्बर उपाध्यक्ष श्रेष्ठले तथ्यहिन समाचार लेखाएकोले आफ्नै संस्थाका पदाधिकारीको मानहानी ताथ बेइज्जति गरेको भन्दै उनी विरुद्ध कारबाहीको प्रस्ताव लैजानुपर्ने राय दिएको स्रोतले बतायो ।

‘चेम्बरको एक उपाध्यक्षको विषयमा अर्को उपाध्यक्षले लान्छाना लगाएर समाचार प्रकाशित गर्दा दुईमध्य पक्कै पनि एउटाको गल्ती छ भन्ने विषय छलफलमा उठेको छ,’ छलफलमा सहभागी एक सदस्यले भने, ‘यदि समाचार वास्तविक हो भने गलत काम गर्नेले चेम्बर छाड्नु पर्छ यदि होइन भने आफ्नै संस्थाभित्रको उपाध्यक्षलाई अनावश्यक लान्छना लगाएर समाचार लेखाउनेले छाड्नु पर्छ ।’ अनावश्यक र गैर जिम्मेवार प्रकृतिका व्यक्तिलाई चेम्बरमा स्थान दिन नहुने समेत ती सदस्यको तर्क थियो । पछिल्लो समय उपाध्यक्ष श्रेष्ठले चेम्बरकै आडमा व्यवसाय गरिरहेको र अहिले आएर त्यसले सिमा नाघेको विषय समेत छलफलमा उठेको ती सदस्यले जानकारी दिए ।

छलफलमा उपाध्यक्ष दिपक मल्होत्राले पनि यदि आफुले गल्ती गरेको भए तुरुन्तै पदबाट राजिनामा दिने र यदि आफू गलत नभएमा आफू विरुद्ध गलत र भ्रामक समाचार लेखेर मानहानी गर्ने अर्का उपाध्यक्ष श्रेष्ठलाई तत्काल पदबाट बर्खास्ती गर्नुपर्ने माग राखेको छलफलमा सहभागी एक अर्का सदस्यले जानकारी दिए । ‘चेम्बरजस्तो संस्थामा गैर कानूनी र अनैतिक काम गर्ने व्यक्ति बस्नु हुँदैन र राख्नु पनि हुँदैन त्यसले संस्थाकै गरिमामा आँच आउनेछ,’ बैंठकमा सहभागी एक सदस्यले उपाध्यक्ष मल्होत्राको भनाई उद्धृत गर्दै भने, ‘बैंठकमा उपाध्यक्ष मल्होत्राले आफूले यदि गैर कानूनी काम गरेको भए प्रमाणित गरेर देखाउन चुनौती दिँदै श्रेष्ठले आफूसँग बार्गेनिङ गरेर आफ्ना विरुद्ध घोर आपत्तिजनक समाचार लेखेको भन्दै बर्खास्ती गर्न माग गरेका छन् ।’

समाचार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मल्होत्राको कम्पनीले निर्माण गरेको पार्किङसहितको भवनको विषयमा सम्बन्धित थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL