Logo

सरकारले समन्वय नगर्दा मर्कामा उखु किसान, कहिले देलान उध्याेगीले किसानकाे ४० कराेड ?

सरकारले समन्वय नगर्दा मर्कामा उखु किसान, कहिले देलान उध्याेगीले किसानकाे ४० कराेड ?



काठमाडौं । उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी बर्दघाट–सुस्ता पश्चिमका उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट ४० करोड रुपैयाँ बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउछन ।

laxmi

समितिका अनुसार वाग्मती चिनी उद्योगले २५ करोड, लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा चिनी मिलले ५ करोड रुपैयाँबराबरको भुक्तानी दिन बाँकी छ । तीमध्ये वाग्मतीको आर्थिक वर्ष २०७६–०७७, लुम्बिनीको २०७५–०७६ र इन्दिराको आर्थिक वर्ष २०७५–०७६ मा किसानको उखु खरिद गरेबापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो ।

सबै उद्योगले उत्पादन गरेको चिनी बिक्री गरिसके पनि हालसम्म किसानले भुक्तानी पाएका छैनन् । चर्को व्याजदरमा ऋण लिएर खेती गरेका कारण समयमा भुक्तानी नहुँदा दोहोरो मारमा परेको प्रतापपुर–७ छिवनीका किसान पप्पु गुप्ताले बताए । यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योगको उत्पादन बन्द छ भने लुम्बिनी र इन्दिराले चालु आवमा चिनी उत्पादन गर्न सकेका छैनन् ।

चालु आर्थिक वर्षमा नवलपरासीमा वाग्मतीबाहेक अन्य तीन वटै उद्योगको उत्पादन बन्द छ । चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने प्रवृत्ति बढ्दै गएकाले सरकारले मूल्य निर्धारण गर्नेक्रममा उद्योगलाई भुक्तानी गर्ने समयावधिसमेत तोक्नुपर्ने प्रतापपुर– ७ झलनीपुरका उखु किसान मदनचन्द्र कोइरीको भनाइ छ ।

वाग्मती चिनी उद्योगले तत्कालका लागि पेश्कीस्वरुप किसानलाई केही रकम उपलब्ध गराउने बताएको छ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४७१ र पैसा २८ यस अगाबै निर्धारण गरिसकेको थियो । वाग्मतीले पहिलो चरणमा २०७७ असार मसान्तभित्र प्रतिक्विन्टल ३७१ र पैसा २८ को दरले भुक्तानी गर्ने र बाँकी आउँदो दशैँसम्म गर्ने तयारी गरिएको महाप्रबन्धक टंकनाथ काफ्लले बताए ।

पश्चिम नवलपरासीमा सुस्ता, प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । रामग्राम नगरपालिकाको केही भागमा पनि उखु खेती गरिँदै आएको छ । पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार चालु आव २०७६–७७ मा कुल ३ हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको तथ्याङ्क छ । यसैगरी अघिल्लो आव २०७५-०७६ मा कुल ३ हजार ६६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL