Logo

त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको अवरोध हट्यो, कुलमानले थर्काए स्थानीयबासीलाई

त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको अवरोध हट्यो, कुलमानले थर्काए स्थानीयबासीलाई



काठमाडौं । त्रिशूली थ्री बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अबरोध हटेको छ । स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि रहेको अबरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका —५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतबस रोकेका थिए । त्रिशूली नदी किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया—४का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए ।

laxmi

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेका थिए । नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए । स्थानीयको जायज माग पूरा गर्न आयोजना संधै तयार रहेको उल्लेख गर्दै नियतबस काम रोक्नेलाई नछोड्ने चेतावनी दिए ।

उनले त्यहींबाट नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सुरक्षा व्यवस्थाको प्रवन्ध गरिदिन अनुरोध गरेका थिए । स्थानीय प्रशासनले तत्कालै आयोजनास्थलमा जनपथ र सशष्त्र प्रहरीको टोली परिचालन गरिदिएको थियो । सुरक्षाको व्यवस्था भएपछि निर्माणमा खटिएको ठेकेदार कम्पनीले शुक्रबार विहानैबाट काम सुरु गरेको हो ।

‘यो सबस्टेसन एक वर्ष भित्रमा बन्न सकेन भने रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको सान्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था छ, यसबापत प्राधिकरणले करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ,’उनले भने । ‘यस्तो महत्वको आयोजनाको काममा अवरोध गर्ने ?’

निर्माणमा अवरोध गर्न मुख्य भूमिका खेल्ने उत्तरगया—४का शिवप्रसाद भट्टराई, जानुका थापामगर लगायतका विरुद्धमा आयोजनाले जिल्ला प्रशासन तथा प्रहरी कार्यालय नुवाकोट र रसुवामा किटानी जाहेरी दिएको छ । त्रिशूली नदी किनारमा सब स्टेशनको कमाण्ड घेर्न पर्खाल लगाउँदा विरोध भएको थियो । स्थानीयले बगरमा निर्माण गरिरहेको पर्खाल माथि सार्न माग गरेका थिए । स्थानीयले अवरोध गरेपछि आयोजनाले दुवैतर्फका वडाध्यक्षहरुसँग छलफल गरेको थियो । उनीहरुले आयोजनाले उपयुक्त स्थानमा नै सबस्टेसन निर्माण गरिरहेकाले अवरोध नगर्न स्थानीयलाई आग्रह गरेका थिए ।

आयोजनाले रसुवातर्फ रहेको खेतीयोग्य जग्गा तथा बस्ती जोखिममा पर्न नदिनका लागि पर्खाल लगाइदिएको छ । भट्टराईको नेतृत्वमा नै पर्खाल लगाइएको थियो । अहिले उनले सबस्टेसन निर्माणमा पेटी ठेक्का हात पार्नका लागि केही स्थानीयलाई उचालेका हुन् । उनले आफ्नो स्वार्थ पूरा गर्न आयोजनाका कर्मचारीलाई फोन गरी धम्क्याउने गरेका छन् ।

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहने छ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ । आयोजनाको निर्माण अगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL