Logo

माथिल्लो त्रिशूली थ्री एको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो, भारतबाट हुने आयात घट्दै

माथिल्लो त्रिशूली थ्री एको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो, भारतबाट हुने आयात घट्दै



काठमाडौं । माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दवाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे । आयोजनाबाट परीक्षणको रुपमा विद्युत उत्पादन भइरहेको छ ।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ स्थिति सबस्टेसनमा जोडिएको छ । शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ । आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो हप्ताभित्र संचालनमा ल्याउने गरी काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युत्को परिमाण घट्ने बताए । ‘लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ’,उनले भने । ‘यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने छ ।’ उनले त्रिशूली ३ ए पूर्ण रुपमा संचालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहने बताए । यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्ने घिसिङले बताए ।

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको हो । आयोजनाले नै काठमाडौंको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ ।
कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)स“ग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सिडब्लुई)ले पाएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४)भित्रमा निर्माण सक्ने गरी सिजिजिसीस“ग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL