Logo

दार्चुला सदरमुकाममा पहिलो पटक पुग्यो राष्ट्रिय प्रसारण लाईन, अब खलंगामा नेपालकै बिजुली

दार्चुला सदरमुकाममा पहिलो पटक पुग्यो राष्ट्रिय प्रसारण लाईन, अब खलंगामा नेपालकै बिजुली



काठमाडौं । दार्चुला सदरमुकाम खलंगामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी बुधबारबाट उक्त लाईन संचालनमा ल्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रीड पुर्याई आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति सुरु गर्नुु ठूलो उपलब्धि भएको बताएका छन ।

‘अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत आयात गरी आपूर्ति गरिरहेका थियौं,’ उनले भने, ‘अब हाम्रै राष्ट्रिय ग्रीड पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन ।’ त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गरिने समेत उनले जानकारी दिए ।

जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरिय विद्युत् प्रयोग गर्न पाउने छन । आवश्यक परेको वेला खलंगाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको उनले जानकारी दिए ।

प्राधिकरणले खलंगामा विद्युत आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेवापत उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक रुपमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको छ ।

बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्जुलाको थालीगाडमा निर्माणाधीन ३३÷११ केभी सबस्टेसनको काम असारभित्रै सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिएका छन । उनले भने, ‘अहिले बलाँच–खलंगा लाइन ३३ केभीकै निर्माण भए पनि सब स्टेसनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै संचालन गरेका छौं ।’

बलाँच–खलंगा ३३ केभी प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२ को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाई २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भूबनोट, विकट क्षेत्र लगायतले गर्दा निर्माणमा केही ढिलाइ भएको कर्णले बताए । सबस्टेसन निर्माणका लागि भने ६ करोड ८९ लाख रुपैयामा २०७३ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत केन्द्रबाट र बलाँच सब स्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउने छ ।

चमेलिया जलविद्युत आयोजनाले निर्माण गरेको बलाँच सबस्टेसनमा ८ दशमलब ५ मेगावाटको अपी, ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्य चमेलिया, ६५ मेगावाटको कलंगा गाड, २५ मेगावाटको छत्तिगाड आयोजना जोडिने छन् । त्यहाँ जोडिएको विद्युत चमेलियाले नै बनाएको १३१ किलोमिटर बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रीडमा प्रवाह हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL