Logo

निर्माणाधिन न्यादी जलविद्युतको हेडरेस सुरुङ ब्रेक थ्रु, आगामी वर्ष सम्पन्न हुने

निर्माणाधिन न्यादी जलविद्युतको हेडरेस सुरुङ ब्रेक थ्रु, आगामी वर्ष सम्पन्न हुने


रासस
27
Shares

काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको हेडरेस सुरुङको ब्रेक थ्रु गरिएको छ ।

प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको ३ दशमलव ८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम सकिएको बताएका छन । आयोजनामा सुरुङसहित ७ सय २५ मिटर पेनस्टक पाइप राखिनेमा ६८ मिटर खनिएको छ । हाइड्रोमेकानिकल ठेकेदारले पाइप आयोजनास्थलमा ल्यउन थालेको समेत अमात्यले जानकारी दिएका छन ।

विद्युतगृहको जग हाल्ने काम सकिएको छ भने बाँध क्षेत्रको सिभिल संरचना निर्माणको २० प्रतिशत काम पूरा भएको छ । बाँध क्षेत्रमा ढलानको काम भइरहेको आयोजनाले जानकारी दिएको छ । विद्युतगृहमा दुई पेलटन टर्वाइन राखिनेछ भने यसको ३० प्रतिशत काम सम्पन्न भएको छ । सर्ज ट्याङ्कको निर्माणकार्य सकिएको अमात्यले जानकारी दिएका छन ।

विसं २०७३ चैत ३० गते देखि निर्माण शुरु गरिएको उक्त आयोजना २०७६ चैत २३ मा सक्ने सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको ५० प्रतिशत काम सकिएको छ । सम्झौता अवधिमै निर्माण सकिने लक्ष्यअनुसार २४सै घण्टा काम भइरहेको समेत आयोजनाले जानकारी दिएको छ ।

उक्त आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा ५ बैंक (नबिल, ग्लोबल आइएमई, हिमालयन, सनराइज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी)ले ऋण लगानी गरेका छन ।

आयोजनाले मस्र्याङ्दी गाउँपालिका–३ खुदी टारीकुनासम्म १३२ केभीको साढे पाँच किमी प्रसारणलाइन निर्माण कार्य समेत थालनी गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट खुदीको टारीकुनामा निर्माण हुने २२० केभी सवस्टेसन तथा प्रसारणलाइनको निर्माणकार्य गर्न भने बोलपत्र आह्वान भइसकेको आयोजनाले जानकारी दिएको छ । आयोजनाले वैकल्पिक थप प्रसारणलाइनसमेत निर्माण गर्नेबारे नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव पेश गरिसकेको आयोजनाका प्रशासकीय अधिृकत वासुदेव गर्तौलाले बताएका छन ।

आयोजनाले प्राधिकरणसँग वर्षायाममा ४ दशमलब ८० र सुख्खायामका लागि ८ दशमलब ४० रुपैयाँमा विद्युत खरीद सम्झौता (पिपिए) गरेको छ । आयोजनामा बुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनीको २ दशमलव ७८ प्रतिशत लगानी रहनेछ ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL