Logo

चालु आर्थिक वर्षको बजेट वाच : निजी क्षेत्रका लागि ७४ बुँदा पहिचान

चालु आर्थिक वर्षको बजेट वाच : निजी क्षेत्रका लागि ७४ बुँदा पहिचान



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँग सम्बन्धित ७४ बुँदा पहिचान गरेको छ। ‘सीएनआई बजेट वाच’ पहल अन्तर्गत ती बुँदालाई सात क्षेत्रगत भागमा वर्गीकरण गरी छुट्टाछुट्टै संवादमार्फत कार्यान्वयनमा जोड दिइने परिसंघले जनाएको छ।

सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा, विगतमा बजेटमा निजी क्षेत्रका सुझाव समेटिए पनि कार्यान्वयनमा कमजोरी देखिने गरेको अनुभव साझा गर्दै यसपटक स्पष्ट खाका सहित बजेट वाचको दस्तावेज तयार गरिएको जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदा पहिचान गरिएकोमा १६ बुँदा (२५.४ प्रतिशत) मात्र पूर्ण कार्यान्वयनमा आएको, ३० बुँदा (४७.६ प्रतिशत) आंशिक कार्यान्वयनमा पुगेको र १७ बुँदा (२७ प्रतिशत) मा कुनै प्रगति नभएको तथ्यांक सार्वजनिक गरिएको छ।

अध्यक्ष पाण्डेले बजेटको सफल कार्यान्वयनबाट पूँजीगत खर्च बढ्ने, नीतिगत सुधार अघि बढ्ने र समग्र अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे। उनले बजेट कार्यान्वयनमा देखिएका अवरोधको पहिचान गरी समाधान खोज्ने रचनात्मक भूमिका खेल्ने उद्देश्यले ‘बजेट वाच’ पहललाई निरन्तरता दिइएको बताए।

उनका अनुसार आगामी दिनमा विषयगत मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुख तथा विज्ञहरुसहित छलफल गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास गरिनेछ। साथै, नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग सहकार्य गर्दै त्रैमासिक प्रतिवेदनमार्फत सरकारलाई रचनात्मक सुझाव दिन निरन्तरता दिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्