Logo

नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच साझेदारी सम्झौता, एसएमईजहरुको प्रवर्द्धनमा जोड

नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच साझेदारी सम्झौता, एसएमईजहरुको प्रवर्द्धनमा जोड



काठमाडौं । श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसिसी) र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई)बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।

श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीको उपस्थितिमा आज एनसिसीका तर्फबाट अध्यक्ष कमलेसकुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डि शिल्भाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवर्द्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङ्काको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्र्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साना तथा मझौला उद्यममा एकअर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठीजस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो ।

यस्तै दुवै देशका चेम्बर प्रतिनिधिबीच दुईपक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानीजस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ ।

साना तथा मझौला उद्यमीद्वारा उत्पादित वस्तुहरुको एकअर्काका देशमा प्रदर्शनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसिसी र एसएलसी एसएम आइकातर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ ।

दुईपक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्बन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ ।

खासगरी नेपाल र श्रीलङ्कामा साना तथा मझौला उद्यमको प्रर्वद्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्