Logo

उद्योग वाणिज्य महासंघले इप्पानलाई आफ्नो सदस्यबाट हटायो, पुनः नवीकरण गरिदिन लविङ

उद्योग वाणिज्य महासंघले इप्पानलाई आफ्नो सदस्यबाट हटायो, पुनः नवीकरण गरिदिन लविङ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)लाई आफ्नो सदस्यबाट हटाएको छ । महासंघको पछिल्लो समय बसेको कार्यकारिणी समितिको बैठकले इप्पानलाई आफ्नो वस्तुगत सदस्यबाट हटाएको हो ।

लामो समयदेखि इप्पानले आफुलाई महासंघको सदस्य रहने वा नरहने भन्ने विषयमा आनाकानी गर्दै आएको थियो । केही समयअघि महासंघले हाइड्रो प्रवर्द्धकहरुको पक्षमा नबोलेको भन्दै आफु महासंघको सदस्य नरहने भन्दै पत्र बुझाएको थियो । तर, इप्पानले देखावटी रुपमा पत्र बुझाएपनि भित्रीरुपमा भने महासंघ नेतृत्वलाई घुर्क्याउँदै सदस्य रहँदै आएको थियो ।

तर, पछिल्लो समय ऊर्जा प्रवर्द्धकहरुले नाजायज तरिकाले काम गरेको, उच्च लागत देखाउँदै बैंकको कर्जा दुरुपयोगका साथै आयोजना नबन्दै आइपीओ जारी गरेर सर्वसाधारण लगानीकर्तालाई समेत फसाउने काम गरेको समाचारहरु आउन थालेपछि महासंघले इप्पानलाई आफ्नो सदस्यबाट हटाएको हो ।

‘इप्पानले महासंघको सदस्यबाट हट्ने भन्दै लामो समयदेखि आवेदन दिएर बसेको थियो तर हटाउन खोज्दा नवीकरण गर्नेजस्ता विषय उठाएर बार्गेनिङ गर्दै आएको थियो,’ महासंघ सम्बद्ध स्रोतले भन्यो, ‘यसपटक पनि इप्पानले महासंघको केही पदाधिकारी र कार्यकारिणी सदस्यमार्फत आफुलाई नहटाउन लविङ गर्दै आएको थियो तर उनीहरुले बढी नै चलखेल गरेकाले कार्यसमितिको बैठकबाट सर्वसम्मतिमा सदस्यता खारेज गरिदियौं ।’

महासंघले संस्था खारेज गरेसँगै पुनः नवीकरण गरिदिन इप्पानले लविङ गर्दै आएको समेत उक्त स्रोतले जानकारी दिएको छ । तर, महासंघले भने खारेज गरिसकेकाले पुनः नवीकरण नहुने र सदस्यताका लागि नयाँ प्रक्रियाबाट आवेदन दिनुपर्ने र पुनः सदस्यता दिने वा नदिने भन्ने विषयमा समेत पुर्नविचार गरिने जानकारी दिएको छ ।

इप्पानलाई महासंघले आफ्नो सदस्यताबाट खारेज गरेसँगै शैलेन्द्र गुरागाई नेतृत्वको ऊर्जा उत्पादकहरुको संस्थालाई वस्तुगत सदस्यता प्रदान गरिसकेकाले ऊर्जासम्बन्धी पुनः अर्को संस्थालाई महासंघले वस्तुगत सदस्यता सदन नमिल्नेसमेत महासंघ सम्बद्ध व्यक्तिहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्