Logo

नेक्सजेन म्यानेजमेन्टको विशेष साधारण सभा, १०० करोड पुँजी र पब्लिक लिमिटेडमा परिवर्तन गरिने

नेक्सजेन म्यानेजमेन्टको विशेष साधारण सभा, १०० करोड पुँजी र पब्लिक लिमिटेडमा परिवर्तन गरिने



काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारणसभा सम्पन्न भएको छ। कम्पनीका संचालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा यहि वैशाख २२ गते काठमाडौं मैतिदेवीमा सभा सम्पन्न भएको हो ।

सभामा प्रबन्ध संचालक रमेश कुमार भट्टराईले बैंक वित्तीय संस्थाको निष्कृय कर्जा र गैर बैंकिंङ सम्पत्ति तीव्र गतिमा वृद्धि भइरहेको तथा सो को न्यूनिकरणको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना बारेमा विगतको मौद्रिक नीति र हालै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आइसकेको जानकारी गराए ।

सम्पत्ती व्यवस्थापनको मुख्य कार्य गर्ने गरी स्थापना भएको नेक्सजेन म्यानेजमेन्टले पनि सोही अनुरूप पुँजी वृद्धि गर्नु पर्ने तथा बैक वित्तीय संस्था, बीमा कम्पनी र अन्य संस्थालाई समावेश गरी कार्य गर्न पब्लिक लिमिटेड कम्पनी बनाउनु पर्ने आवश्यकता रहेको सभालाई भट्टराईले अवगत गराए ।

सभामा नेक्सजेनको अधिकृत पुँजी एक अर्ब, तत्काल जारी पुँजी ५० करोड र कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने गरी प्रबन्धपत्र नियमावलिमा संसोधन गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको छ ।

नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्ष देखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ । यसले निष्कृय कर्जा नियमित गर्न, पून संचालन गर्न तथा बिक्रीको लागि पनि सहजीकरण गर्ने गरेको छ । यो कम्पनी पूर्व बैंकरहरू समेतको लगानिमा खुलेको संस्था हो ।

सभाको अन्त्यमा अध्यक्ष अजय कुमार मिश्रले विश्वमा धेरै मुलुकमा सम्पत्ति व्यवस्थापन कम्पनीले निष्कृय कर्जा व्यवस्थापन गरी बैंक, वित्तिय संस्थालाई सहज पारेको बताए । नेपालको सन्दर्भमा पनि यस्तो कम्पनी संचालनको समय आइसकेको र यसमा नेक्सजेन म्यानेजमेन्टले अग्रणी भुमिका खेल्नुपर्ने उनले बताए । सभामा सक्रिय सहभागिताको लागि संस्थापकहरूलाई अध्यक्ष मिश्रले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्