काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको अन्तराष्ट्रिय लेखा परीक्षकबाट ‘लोन पोर्टफोलियो रिभ्यु’ सुरु भएको छ । ‘लोन पोर्टफोलियो रिभ्यु’ को लागि बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले जिम्मेवारी पाएको हो ।
यसका लागि नेपाल राष्ट्र बैंक र बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीसँग भदौ १२ मा सम्झौता भएको हो । अबको ५ महिनाभित्र काम सक्ने गरेर उक्त सम्झौता भएको राष्ट्र बैंकले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको शर्तमा राष्ट्र बैंक १० ठूला बैंकहरुको एलपीआर गर्न सहमत भएको थियो । राष्ट्र बैंकका अनुसार १० ठूला बैंकहको अडिट गर्न करिब ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । नेपालमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये १० ठूला बैंकको अडिट गराउन लागिएको हो । जसमा ठूलो आकारको व्यवसाय गर्ने १० बैंकको लेखापरीक्षण गराउन लागिएको हो ।
अन्तराष्ट्रिय अडिट फर्महरुको लेखा परीक्षणमा पर्ने बैंकहरुमा क्रमशः नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक छन् । त्यस्तै, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकको विदेशी अडिट फर्मले लेखापरीक्षण गर्नेछ ।
यसअघि राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी कम्पनीलाई एलपीआरका लागि छनोट गरेको थियो । सो कम्पनीले सम्झौता चरणमा धेरै रकम माग गरेको भन्दै राष्ट्र बैंकले सो कम्पनीसँगको सम्झौता नै रद्द गरेको थियो ।