काठमाडौं । कोशी प्रदेश सरकार आयोजनामा पहिलोपटक लगानी सम्मेलन सुरु भएको छ । ‘प्रदेशको समृद्धिको आधार ः जलस्रोत, पर्यटन, कषि र पूर्वाधार’ नाराका साथ दुईदिने सम्मेलन विराटनगरमा सुरु भएको हो।
सम्मेलनमा प्रदेश सरकारले एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका परियोजना सोकेस गर्ने तयारी गरेको छ भने कृषि, पर्यटन, ऊर्जा, उद्योग र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र नेपाल उद्योग परिसङ्घका अध्यक्ष पवनकुमार शारदाले सम्मेलनले कोरोनापछि थलिएको व्यवसायिक वातावरणलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्।
लगानी प्राधिकरणका प्रमुख कार्यकारी डा. सरोज कोइरालाका अनुसार दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता (एमओयू) हुने अपेक्षा गरिएको छ।
सरकारले चालु आर्थिक वर्षमा सम्मेलनका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको थियो। सम्मेलनले संघीय सरकार, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य गर्दै कोशीमा दीर्घकालीन लगानी वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।