Logo

झापाको बिएण्डसीले पायो काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन, सय जनाले डाक्टर पढ्न पाउने

झापाको बिएण्डसीले पायो काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन, सय जनाले डाक्टर पढ्न पाउने



काठमाडौं । काठमाडौं विश्वविद्यालयले विर्तामोड झापामा रहेको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिएको छ । गत हप्ताको बिहीबार मात्रै सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई १५ दिनभित्रै सम्बन्धन दिन आदेश जारी गरेको थियो ।

laxmi

सोही आदेश अनुसार विश्वविद्यालयको टोलीले विर्तामोडमा गई बि एण्ड सीको स्थलगत अवलोकन गरेर कलेजले तोकिएका शर्तहरु पूरा गरिसकेको पाईएपछि सम्बन्धन दिईएको विश्वविद्यालयले जानकारी दिएको छ । विश्वविद्यालयले मेडिकल कलेजलाई सम्बन्धन दिईएको पत्र विएण्डसी कलेजमा सोमबार पठाएको हो । केयुको उक्त सम्बन्धनसँगै अब विएण्डसीले एमबिबिएस विद्यार्थी भर्ना सुरु गर्न पाउने भएको छ ।

यसअघि सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलगायतलाई व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई यसै शैक्षिक सत्रवाट एमबिबिएस अध्यापनका लागि विद्यार्थी भर्ना गर्न पाउने गरि सम्बन्धन दिन सो आदेश दिएको थियो ।

मेडिकल कलेज सञ्चालनका लागि लामो समयदेखि आशयपत्र लिएर बसेको बी एण्ड सी कलेजले सम्बन्धन नपाएपछि उक्त कलेजका मालिक दुर्गा प्रसाईँले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाएका थिए ।

कलेजले १५ फागुन २०७३ मा नै मापदण्ड तथा पूर्वाधार तयार गरी एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि काठमाडौँ विश्वविद्यालयसमक्ष निवेदन दिएको थियो । सम्बन्धन नदिएपछि बी एण्ड सीले सम्बन्धनका लागि विसं २०७७ असार २१ गते काठमाडौँ मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई रिट दायर गरेको थियो । ती सबै रिटको एकमुष्ट सुनुवाइ गरेर सर्वोच्चले चैत्र १२ गते निर्णय सुनाएको थियो ।

डा. गोविन्द केसीको आन्दोलनका कारण सबै मापदण्ड पुगेर पनि बि एण्ड सीले सम्बन्धन पाउन सकेको थिएन । सर्वोच्चको आदेशसँगै वि एण्ड सीले सम्बन्धन पाउने बाटो खुलेकोमा अहिले सर्वोच्चले विएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशन दिएको हो । यससँगै विएण्डसीले यसै शैक्षिक सत्रवाट एमबिबिएस अध्यापनका लागि विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने भएको छ ।

सम्बन्धन पाएसँगै अबको २ महिनाभित्र नयाँ शैक्षिकसत्रका लागि भर्ना प्रक्रिया सकिसक्ने विएण्डसी मेडिकल कजेलका अध्यक्ष डा। रामबाबु गिरीले बताए । ‘हामीले १ सय विद्यार्थीलाई एमबीबीएस अध्यायपन गराउनका लागि सम्बधन पाएका हौं भने सोही अनुसार विद्यार्थी भर्नाका लागि आवेदन दिएका छौं,’ उनले भने, ‘अब तत्काल भर्ना शुरु गरेर यहिँ शैक्षिकसत्र बाट पढाई सुचारु गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL