Logo

ईसेवाले ल्यायो आवाजबाटै कारोबारको विवरण बताउने ई–स्पिकर, ३६०० मै पाउन सकिने

ईसेवाले ल्यायो आवाजबाटै कारोबारको विवरण बताउने ई–स्पिकर, ३६०० मै पाउन सकिने



काठमाडौँ । ईसेवाले डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाटै कारोबारको विवरण बताउने ई–स्पिकर यन्त्र सार्वजनिक गरेको छ । सिम कार्ड तथा वाई-फाई मार्फत इन्टरनेटमा जोडिएर ई–स्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्त जानकारी दिन सक्ने ईसेवाले जनाएको छ। यार्सा टेकसँगको सहकार्यमा बनाइएको ई–स्पिकर यन्त्र पूर्णत: नेपालमै बनेको यन्त्र हो ।

laxmi

ई–स्पिकर (eSpeaker) एक अडियो अलर्ट यन्त्र हो जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्त दिनेछ। यसले ईसेवाका क्यूआर मर्चेन्टहरूलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ। यस अगाडि, ग्राहक तथा व्यवसायीहरूले क्यूआरमार्फत आएको भुक्तानी पूरा भए/नभएको तुरुन्तै पुष्टि गर्नलाई केही असहज थियो ।

कार्यक्रममा बोल्दै एफ वान् सफ्टका डाइरेक्टर, सुवास शर्माले नेपालमै बनेको यस उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्नेमा विश्वस्त रहेको बताए। कार्यक्रमका संचालक आशिष गौतमले यस यन्त्रले अहिले नेपाली तथा अंग्रेजीमा सेवा दिए पनि निकट भविष्यमा नेपालको स्थानीय भाषा मैथिली तथा नेवारी (नेपाल) भाषामा पनि सेवा दिने जानकारी दिएका थिए। ईसेवाको वेब वा एपको प्रयोग गरी सजिलै ई–स्पिकर यन्त्र मगाउन सकिनेछ।

यो यन्त्र अर्डर गर्नका लागि ईसेवाको ‘New Services’ मा गई ‘eSpeaker Request’ छान्नुपर्नेछ। तपाईंले उक्त फारम भरेर बुझाएपश्चात स्वीकृत भएपछि, नेपालभरी जहाँसुकै तपाईंले अनुरोध गरेको स्थानमा ईसेवाले नै पुर्याउनेछ। ई–स्पिकर यन्त्र दुई वटा तरिकाले मगाउन सकिनेछ। व्यवसायीहरूले एकमुस्ट रकम तिरेर वा मासिक महशुल तिरेर ई–स्पिकर यन्त्र मगाउन सक्नेछन्। अहिलेका लागि व्यवसायीहरूले एकमुस्ट रकम तिरेर नै ई–स्पिकर मगाउन सक्नेछन् भने मासिक महशुल तिरेर ई–स्पिकर मगाउने तरिका पनि छिट्टै ल्याउने ईसेवाले जनाएको छ।

एकमुस्ट रकम तिर्नेले वास्तविक मूल्य रु ४००० तिर्नु पर्नेमा अहिलेको चाडपर्वको अवसरमा व्यवसायीले रु ३६०० मै ई–स्पिकर पाउन सक्नेछन्। साथै उक्त यन्त्रमा १२ महिनाको वारेन्टी पनि रहेको ईसेवाले जानकारी गराएको छ। कार्तिक १ देखि ई–स्पिकर यन्त्रको अर्डर गर्न सकिने र छठ पछि व्यवसायीहरूले उक्त यन्त्र पाउने ईसेवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL