Logo

४ अर्ब ३८ करोड लगानीमा २४ मेगावाट क्षमताको विद्युत गृह संचालनमा आउँदै, उद्योग विभागमा दर्ता भयो एसएन ईनर्जी

४ अर्ब ३८ करोड लगानीमा २४ मेगावाट क्षमताको विद्युत गृह संचालनमा आउँदै, उद्योग विभागमा दर्ता भयो एसएन ईनर्जी



काठमाडौं । उद्योग विभागमा एस एन ईनर्जी प्रालि नामको जलविद्युत कम्पनी दर्ता भएको छ । कास्कीको माछापुच्छ्रे गाविसमा २४ मेगावाट क्षमताको जलविद्युत गृह संचालनमा ल्याउनेगरी विभागमा ४ अर्ब ३८ करोड ७६ लाख ८३ हजार रुपैयाँको लगानी प्रस्तावसहित उक्त परियोजना दर्ता भएको हो ।

laxmi

परियोजनाले विभागमा बार्षिक १ सय ३७ गिगावाट आवर बिजुली विक्री गर्ने प्रस्ताव राखेको छ । गएको भदौ २५ गते उद्योग विभागले यो परियोजनालाई लगानीका लागि स्वीकृति दिईसकेको छ ।

कम्पनीले सुपर सेती जलविद्युत आयोजना नामको जलविद्युत परियोजना निर्माण गर्ने बताईएको छ । जसको सम्पन्न हुने म्याद भने कम्पनीले नै ३ बर्ष राखेको छ । अर्थात कम्पनीले उक्त परियोजना २०८३ सम्ममा निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिसक्ने प्रतिवद्धता जाहेर गरेको छ ।

कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत विकास विभागमा भने गत बर्षको पुसमै आवेदन दिएको थियो । आवेदन दिएपनि कम्पनीले काम अघि बढाउन अनुमति भने पाईसकेको छैन ।

बरु विद्युत विकास विभागले कम्पनीको नाममा आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भएमा ३५ दिन भित्रमा सरोकारवालालाई लिखित राय÷सुझाव पेश गर्न आग्रह गर्दै गत भदौमा सूचना प्रकाशित गरेको छ ।

यो आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना हो । यस आयोजनाको डिजाइन वहाव ८.५ घनमिटर प्रति सेकेन्ड र समग्रगत हेड ३४४ मिटर रहनेछ । आयोजनाबाट वार्षिक सरदर १४०.९४५ गिगावट घण्टा विद्युत उत्पादन हुनेछ ।

उत्पादित ऊर्जालाई १३२ केभी प्रसारण लाइनमार्फत २१ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL