Logo

एसियन लाईफलाई यति एयरको सेयर किन्न प्राधिकरणको अनुमति, पौने २ अर्ब लगानी, आईपीओ जारी गरिने

एसियन लाईफलाई यति एयरको सेयर किन्न प्राधिकरणको अनुमति, पौने २ अर्ब लगानी, आईपीओ जारी गरिने



काठमाडौं । नेपाल बीमा प्राधिकरणले एसियन लाईफ इन्स्योरेन्सलाई यति एयरलाइन्सको सेयर खरिद गर्न अनुमति दिएको छ । निरन्तर आर्थिक संकट बढ्दै गएपछि नगद प्रवाह व्यवस्थापन गर्न नसक्दा यति एयरलाईन्सले आफ्नो सेयर बिक्री गर्दै थप व्यवसाय विस्तार गर्न आफ्नो ५० प्रतिशत सेयर बिक्री गर्न एसियन लाईफसँग आन्तरिक रुपमा सहमति गरेर प्राधिकरणसँग अनुमति माग गरेको थियो ।

laxmi

‘एसियन लाईफले यतिको ५० प्रतिशतभन्दा कम सेयर किन्न कम्पनीको डीडीए गरेर लगानीको स्वीकृति माग गरेको थियो,’ प्राधिकरण स्रोतले भन्यो, ‘उनीहरुले यति एयरको डीडीए गर्दा प्रतिकित्ता मूल्य १८० माथि देखिएको छ तर प्राधिकरणले प्रतिकित्ता १७० रुपैयाँसम्ममा सेयर किन्न अनुमति दिएको छ ।’

समाचार स्रोतका अनुसार यति होल्डिङ्सले यति एयरलाईन्सको ४९ प्रतिशत सेयर एसियन लाईफलाई बिक्री गर्ने आन्तरिक सहमति भएको छ । सोही अनुरुप एसियनले पनि यतिमा ५० प्रतिशतभन्दा कम सेयर हिस्सामा लगानी गर्ने भनेर स्वीकृति माग गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । सो सेयरमध्ये ४९ प्रतिशत सेयर प्रिमियम मूल्यमा एसियन लाईफले खरिद गर्नेछ । ‘दुवै पक्षबीच उक्त सेयर प्रतिकित्ता थप ७० रुपैयाँ प्रिमियम थप गरी १७० रुपैयाँमा खरिदबिक्री गर्न समझदारी भएको छ,’ स्रोतले भन्यो, ‘साझेदारका रुपमा भित्रन लागेको एसियन लाइफ इन्स्योरेन्सलाई सोही मूल्यमा खरिद गर्न प्राधिकरणले अनुमति दिएको छ ।’

जसअनुसार एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर यति एयरको ४९ प्रतिशत सेयरको अपनत्व गर्नेछ । यतिमा एसियन लाईफ भित्रिएसँगै कम्पनीले सर्वसाधारणका लागि समेत सेयर जारी गर्ने भएको छ । कम्पनीमा बाह्य साझेदार भित्र्याएर आईपीओ जारी गर्ने उद्देश्य अनुरुप कम्पनीले तीन महिना अघि मात्र यति एयर प्रालिबाट लिमिटेड कम्पनीमा रूपान्तरण गरेको थियो । यस अघि यति एयरका संचालकले पनि एक सम्मान कार्यक्रममा बोल्दै आफुहरुले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको जानकारी दिएका थिए ।

२५ वर्ष पुरानो घरेलु हवाई उडान सेवा कम्पनी यति एयरसँग हाल पाँचवटा एटिआर ७२ विमान छन् । यतिले भगिनी संस्था तारा एयरमार्फत पनि छोटो दूरीको हवाई उडान सेवा प्रदान गर्दै आएको छ । गत वर्ष यसले १० लाख लाख यात्रुलाई हवाई उडान सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL