Logo

ललिता निवास प्रकरणमा तीनवटै निजी क्षेत्रका छाता संगठनले भने-निजीक्षेत्रलाई दोषी ठहर नहुँदै थुन्ने होईन सुन्ने गरौं

ललिता निवास प्रकरणमा तीनवटै निजी क्षेत्रका छाता संगठनले भने-निजीक्षेत्रलाई दोषी ठहर नहुँदै थुन्ने होईन सुन्ने गरौं



काठमाडौं । ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङ मुछिएपछि उद्योगी व्यवसायीका तीनै छाता संगठन एकै ठाउँ उभिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको विरोध गरेका हुन् ।

laxmi

संयुक्त विज्ञप्तिमा कुनै बिषयको आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने र थुन्ने काम बन्द गर्न आग्रह गरिएको छ । यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

अर्थतन्त्रको प्रमुख संवाहकका रुपमा रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समय भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको तीनै छाता संगठनको भनाई छ ।

‘कानून विपरित काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ । तर कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट निजी क्षेत्र पनि त्रसित हुन पुगेको विज्ञप्तिमा उल्लेख छ ।
कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका छन् । राज्यको यस्तो प्रबृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने उद्योगीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL