Logo

नेपाल व्यापार एकीकृत रणनीति २०७९ को अन्तिम मस्यौदा तयार, निर्यात प्राथमिकताको सूचीमा थपिए पानीदेखि तरकारीसम्म

नेपाल व्यापार एकीकृत रणनीति २०७९ को अन्तिम मस्यौदा तयार, निर्यात प्राथमिकताको सूचीमा थपिए पानीदेखि तरकारीसम्म



काठमाडौं । सरकारले संशोधनसहितको ‘नेपाल व्यापार एकीकृत रणनीति २०७९’ को अन्तिम मस्यौदा तयार पारेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले हाल यसको मस्यौदामाथि सरोकारवालाहरुसँग विभिन्न चरणका अन्तरक्रिया पनि गरिरहेको छ ।

सरकारले निर्यातमा प्राथमिकता दिइनुपर्ने वस्तुहरुको सूचीमा केही हेरफेर गरेर तयार पारेको उक्त मस्यौदामाथि निजी क्षेत्रसँगको अन्तरक्रिया सोमबार थियो । जसमा निजी क्षेत्रका प्रतिनिधिहरु र मन्त्रालयका अधिकारीहरुबीच उक्त अन्तिम मस्यौदाउपर छलफल भएको थियो ।

सरकारले तयार पारेको नयाँ रणनीतिको मस्यौदामा सन २०१६ मा समाबेश गरिएका केहि वस्तुहरु हटाइएको छ भने केही वस्तुहरु थप गरिएको मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले बताए । उनका अनुसार नयाँ मस्यौदामा खानेपानी, सुगन्धित तेल, तरकारी फलफूल, मसला, पास्ता, कफीलगायतका वस्तुहरु थपिएका छन् । यस्तै सेवातर्फ पनि सरकारले उक्त मस्यौदामा जलविद्युत र आइटी क्षेत्रलाई विशेष प्राथमिकता दिएको उनले बताए ।

सन् २०१६ मा तर्जुमा गरिएको रणनीतिमा सरकारले टेक्सटायल, यार्न, कार्पेट, छाला र जुत्तालगायतका वस्तुलाई प्राथमिकताप्राप्त वस्तुको सूचीमा थप गरेको थियो । त्यसबेला सरकाले अल्लिो पटक अर्थात सन २०१० मा सूचीमा अटाईएका मह, मुसुरोको दाल, चाउचाऊ र सारयुक्त तेललाई हटाएको थियो । यस्तै त्यसबेला हस्तकला र आद्यौगिक वस्तुहरूको सूचीबाट नेपाली हातेकागज, चाँदीका गहना, फलाम र स्टिल, ऊनलगायतका उत्पादन पनि हटाइएको थियो ।

नयाँ मस्यौदामा भने हाते कागज, रोजिन र टर्पेन्टाईन, गरगहना, ऊनबाट बनेका सामाग्री, गलैंचा, फलाम तथा स्टिल, धागो तथा कपडालगायतका वस्तुहरुलाई पुनः निरन्तरता दिएको छ ।

खासगरी हालसम्मको उत्पादन र आयातको अवस्था, आगामी दिनमा हुने व्यापार सम्भावनाको आधारमा निर्यातको प्राथमिकतामा पर्ने वस्तुहरुको सूची नयाँ रणनीतिमा हटाईएको सहसचिव कार्कीले बिजखबरलाई बताए । उनका अनुसार अझै केहि चरणको अन्तरक्रियापछि मात्रै उक्त मस्यौदा पास हुनेछ ।

निर्यातमा अथाह सम्भावना भएको वस्तुलाई मध्येनजर गर्दै सरकाले नेपाल व्यापार एकीकृत रणनीति–२०१० कार्यन्वयनमा ल्याएको थियो । त्यसबेला कृषिजन्य वस्तुतर्फ ७ ओटा, औद्योगिक उत्पादनतर्फ ५ ओटा, सेवातर्फ ८ प्रकारका सेवा र अन्य ५ वस्तु तथा सेवालाई निर्यातमा प्राथमिकताप्राप्त वस्तुको सूचीमा समावेश गरेको थियो ।

त्यसबेला अलैंची, अदुवा, मह, मसुरो, चिया, चाउचाऊ, जडीबुटी, सारतेल, हाते कागज, चाँदीका गहना, फलाम र स्टील, पश्मिना, ऊन उत्पादन, पर्यटन, श्रम सेवा, आइटी र बीपीओ सेवा, स्वास्थ्य सेवा, शिक्षा, इन्जिनीयरिङ, जलविद्युत्, ट्रान्जिट व्यापार सेवा, चिनी, सिमेन्ट, दुग्ध पदार्थ र ट्रान्सफर्मरलाई सम्भावित प्राथमिकताप्राप्त वस्तुहरूको सूचीमा समावेश गरिएको थियो ।

त्यसको ६ बर्षपछि पुनः सरकारले त्यो सूचीमा केही हेरफेर गरी नेपाल व्यापार एकीकृत रणनीति–२०१६ जारी गरेको थियो । उक्त रणनीतिमा अघिल्लो रणनीतिमा समावेश गरिएका मह, मसुरो, चाउचाऊ र सारयुक्त तेललाई हटाइएको थियो । यस्तै उक्त रणनीतिमा हस्तकला र आद्यौगिक वस्तुहरूको सूचीबाट नेपाली हातेकागज, चाँदीका गहना, फलाम र स्टील, ऊन उत्पादन हटाइँदा टेक्सटाइल, यार्न, कार्पेट, छाला र जुत्तालाई प्राथमिकताप्राप्त वस्तुहरूको सूचीमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL