Logo

लयमा फर्कियो पुष्प व्यवसाय, चालु आवमा २० करोड बढी कारोबारको लक्ष्य

लयमा फर्कियो पुष्प व्यवसाय, चालु आवमा २० करोड बढी कारोबारको लक्ष्य



काठमाडौं । कोरोना महामारीको त्रास कम भएसँगै ३ वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । अहिले महामारीको त्रास कम छ । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत रुपमा नै सञ्चालनमा छन् । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले जसरी नै हुन थालेको छ । त्यति मात्रै होइन यसवर्ष गत वैशाखमा स्थानीय तहको निर्वाचन र यही मङ्सिर ४ गते भएको आम निर्वाचनका कारण पनि यसवर्ष उल्लेख्य मात्रामा फूलको कारोबार भएको बताइएको छ ।

विगत तीन वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगन्य मात्र भएको थिएन यस व्यवसायले दैनिक १ करोड रुपैयाँसम्मको नोक्सानी सामना गर्नुपरेको फ्लोरी कल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको अवस्था छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको अध्यक्ष तामाङले जानकारी दिए । नेपालमा हाल व्यवसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको जनाइएको छ ।

नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । एशोसिएशनले चालू आर्थिक वर्षमा विगतका वर्षभन्दा रु २० करोड बढी कारोबार गर्ने लक्ष्य लिएको छ । चालू आवका लागि २ अर्ब ५० करोड रुपैयाँको लक्ष्य रहेको छ । गतवर्ष २ अर्ब ३० करोडको लक्ष्य लिइएको थियो ।

महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठीन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यसवर्ष लक्ष्यमा पुग्न समस्या नहुने विश्वास एशोसिएशनले लिएको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL